५ असार २०८३, शुक्रबार

म्याग्दीमा रेडपाण्डाको दिसा परीक्षण गरी स्वास्थ्य अध्ययन सुरु

म्याग्दी — म्याग्दीको धवलागिरी गाउँपालिकामा पर्ने जलजला र ढोरपाटन शिकार आरक्ष क्षेत्रमा पाइने सङ्कटापन्न वन्यजन्तु रेडपाण्डा (हाब्रे) को दिसा परीक्षण गरी स्वास्थ्य अवस्थाको अध्ययन सुरु गरिएको छ।

दातृ निकाय टोलेडोजुको सहयोगमा जैविक विविधता संरक्षण समाज नेपाल (वायोकस) नेपालले धवलागिरी गाउँपालिका–२ र ३ मा पर्ने जलजला, मुना, मरेनी र ढोरपाटन शिकार आरक्ष क्षेत्रमा अध्ययन थालेको हो। वायोकस नेपालका कार्यक्रम अधिकृत पवन राईका अनुसार हाब्रेको स्वास्थ्य अवस्थाबारे जानकारी लिने र संरक्षणमा सहयोग गर्ने उद्देश्यले दिसाको परीक्षण गरी अध्ययन गर्न प्राविधिक टोली परिचालन गरिएको छ।

“यस क्षेत्रमा हाब्रेको पेट र आन्द्रामा हुने परजीवी (किरा/जुका) को अवस्थाका विषयमा अध्ययन भइरहेको छ,” उनले भने, “दिसा भेटिएका स्थानहरूमा जडान भएका १२ वटा स्वचालित क्यामेरामा कैद हुने दृश्यको आधारमा रेडपाण्डाको अनुमानित सङ्ख्या पहिचान गर्न पनि अध्ययन भइरहेको छ।”

समुद्री सतहबाट २,२०० देखि ४,५०० मिटरको उचाइमा बसोबास गर्ने रेडपाण्डालाई सरकारले सङ्कटापन्न वन्यजन्तुको सूचीमा राखेको छ। यसअघि जलजलामा तीनवटा क्यामेरा जडान गरिएकोमा दुईवटामा रेडपाण्डा रेकर्ड भएको राईले बताए। सो क्षेत्रमा ६ देखि २५ वटासम्म रेडपाण्डाको बसोबास रहेको अनुमान गरिएको छ।

स्थानीय बासिन्दाले विसं २०८० असोजमा ढोरपाटन शिकार आरक्षको गुर्जाघाट, २०८१ मङ्सिर र २०८३ वैशाख ३१ गते मुनाको दहपातल सामुदायिक वनको बञ्चरेडाँडा क्षेत्रमा हाब्रे भेटिएका तस्बिर तथा भिडियो सार्वजनिक गरेका थिए। विसं २०७३ मा विश्व वन्यजन्तु कोष र हरियो वन कार्यक्रमको आर्थिक सहयोगमा रेडपाण्डा नेटवर्क र हिमाली संरक्षण मञ्चले जलजला क्षेत्रको मरेनीमा रेडपाण्डाको दिसा फेला पारेका थिए।

रातको समयमा रूखको टोड्कामा बास लिने र दिउँसो रूखका हाँगामा आराम गर्ने रेडपाण्डा भोक लागेको बेला निगालोको टुसालगायत झारपात खान भुईंमा झर्छ। रेडपाण्डाका लागि आवश्यक आहारा निगालो, पालिङ्गो र टोड्का परेका रूख गुर्जा, लुलाङ र मुनाको जङ्गलमा पर्याप्त मात्रामा पाइन्छ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ अन्तर्गत रेडपाण्डालाई संरक्षित सूचीमा राखिएको छ। रेडपाण्डाको चोरी सिकारमा संलग्नलाई एक वर्षदेखि १० वर्षसम्म कैद र एक लाखदेखि पाँच लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने कानुनी व्यवस्था छ।

पछिल्लो अध्ययनअनुसार नेपालमा हाब्रेको सङ्ख्या पाँच सयदेखि एक हजारवटा रहेको अनुमान गरिएको छ। विश्वमा नेपाल, चीन, भारत, भुटान र म्यानमारमा मात्र हाब्रेको बासस्थान रहेको छ। नेपालमा एलुरेन्स फ्युजन्स जातको हाब्रे पाइन्छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button