चीन–सर्बिया साझेदारीलाई नयाँ गति दिने सहमति
बेइजिङ । सर्बियाका राष्ट्रपति अलेक्जान्डर भुचिचको चीन राजकीय भ्रमणलाई ऐतिहासिक महत्वको भ्रमणका रूपमा लिइएको चीनले जनाएको छ। चीनको विदेश मन्त्रालयकी प्रवक्ता माओ निङले मंगलबार आयोजित नियमित पत्रकार सम्मेलनमा यस वर्ष चीन–सर्बिया व्यापक रणनीतिक साझेदारी स्थापना भएको १०औँ वार्षिकोत्सव परेकाले भ्रमण विशेष महत्वको रहेको बताउनुभयो।
प्रवक्ता माओका अनुसार चीन र सर्बियाका राष्ट्राध्यक्षबीच नयाँ युगमा साझा भविष्यसहितको चीन–सर्बिया समुदाय निर्माणमा हासिल उपलब्धिबारे उच्च मूल्याङ्कन भएको छ। दुवै पक्षले एकअर्काका मूल हित र प्रमुख सरोकारका विषयमा दृढ समर्थन दोहोर्याएका छन्।
भेटवार्ताका क्रममा चीनको १५औँ पञ्चवर्षीय योजना २०२६–२०३० र सर्बियाको ‘सर्बिया २०३०’ विकास रणनीतिबीच तालमेल खोज्ने सहमति भएको माओले जानकारी दिनुभयो। दुवै पक्षले राजनीतिक सहकार्यलाई थप गहिरो बनाउँदै अर्थतन्त्र, विज्ञान तथा प्रविधि, संस्कृति, पर्यटन र शिक्षालगायत क्षेत्रमा सहकार्य विस्तार गर्ने सहमति गरेका छन्।
प्रवक्ता माओका अनुसार तीव्र परिवर्तन भइरहेको विश्व परिस्थितिमा चीन र सर्बियाले रणनीतिक संवादलाई अझ सुदृढ बनाउने साझा धारणा राखेका छन्। दुवै राष्ट्राध्यक्षले वास्तविक बहुपक्षीयताको अभ्यास गर्ने, प्रभुत्ववाद र शक्ति राजनीतिका विरुद्ध उभिने तथा अन्तर्राष्ट्रिय निष्पक्षता र न्यायको रक्षा गर्ने विषयमा समान धारणा व्यक्त गरेका छन्।
राष्ट्रपति भुचिचको भ्रमण बेइजिङमा मात्र सीमित नरही सांघाइ लगायत चीनका अन्य स्थानमा पनि केन्द्रित रहने जनाइएको छ। माओका अनुसार विस्तृत कार्यक्रम र उपलब्धिमूलक परिणामसहितको यो राजकीय भ्रमणले दुई देशबीचको उच्च राजनीतिक आपसी विश्वास, उच्च गुणस्तरको व्यावहारिक सहकार्य र बहुपक्षीय मामिलामा उच्चस्तरीय समन्वयलाई स्पष्ट देखाएको छ।
चीनले उक्त भ्रमणले चीन–सर्बिया व्यापक रणनीतिक सहकार्यमा नयाँ ऊर्जा थप्ने विश्वास व्यक्त गरेको छ। साथै, नयाँ युगमा साझा भविष्यसहितको चीन–सर्बिया समुदाय निर्माणलाई अघि बढाउन भ्रमणले बलियो प्रेरणा दिने प्रवक्ता माओले बताउनुभयो।
चीन र सर्बियाबीच पछिल्ला वर्षहरूमा पूर्वाधार, लगानी, व्यापार, प्रविधि, शिक्षा तथा सांस्कृतिक आदानप्रदानका क्षेत्रमा सहकार्य बढ्दै गएको छ। यसै सन्दर्भमा राष्ट्रपति भुचिचको भ्रमणले द्विपक्षीय सम्बन्धलाई दीर्घकालीन साझेदारीको नयाँ चरणमा पुर्याउने अपेक्षा गरिएको छ।




