संयुक्त राष्ट्रमा चीनको भूमिका : शान्ति, विकास र बहुपक्षीयतामा योगदान

बेइजिङ । चिनियाँ विदेशमन्त्री वाङ यीले संयुक्त राष्ट्रसङ्घीय प्रणाली, विश्व शान्ति, विकास र बहुपक्षीयताको प्रवर्द्धनमा चीनले निरन्तर योगदान गर्दै आएको बताउनुभएको छ।
मङ्गलबार संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्को उच्चस्तरीय बैठकमा सम्बोधन गर्दै विदेशमन्त्री वाङले संयुक्त राष्ट्रसङ्घका उद्देश्य र सिद्धान्तको रक्षा तथा संयुक्त राष्ट्र केन्द्रित अन्तर्राष्ट्रिय प्रणालीलाई सुदृढ बनाउन चीन प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो।
यस वर्ष संयुक्त राष्ट्रसङ्घमा जनवादी गणतन्त्र चीनको वैधानिक स्थान पुनःस्थापना भएको ५५औँ वार्षिकोत्सव परेको छ। सो अवसर स्मरण गर्दै वाङले चीनले सुरक्षा परिषद्को स्थायी सदस्यका रूपमा विगत ५५ वर्षदेखि संयुक्त राष्ट्रसङ्घका गतिविधिमा सक्रिय भूमिका निर्वाह गर्दै आएको बताउनुभयो।
चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्युरोका सदस्यसमेत रहनुभएका वाङले अन्तर्राष्ट्रिय परिस्थिति तीव्र उतारचढाव र रूपान्तरणबाट गुज्रिरहेको अवस्थामा पनि चीनले आफ्नो जिम्मेवारी स्पष्ट रूपमा वहन गर्दै आएको उल्लेख गर्नुभयो। उहाँका अनुसार चीनले मानवजातिका लागि साझा भविष्यसहितको समुदाय निर्माण गर्ने दृष्टिकोण र चार प्रमुख वैश्विक पहलमार्फत अन्तर्राष्ट्रिय समुदायबाट व्यापक समर्थन प्राप्त गरेको छ।
विश्वका विभिन्न क्षेत्रमा द्वन्द्व र तनाव बढिरहेका बेला चीनले शान्ति प्रवर्द्धन र संवादलाई प्राथमिकता दिएको वाङले बताउनुभयो। उहाँले संयुक्त राष्ट्रसङ्घीय मञ्चमार्फत युक्रेन सङ्कट समाधानका लागि ‘ग्रुप अफ फ्रेन्ड्स फर पिस’ स्थापना गरिएको उल्लेख गर्दै चीनले संवेदनशील क्षेत्रीय तथा अन्तर्राष्ट्रिय मुद्दा समाधानमा आफ्नै शैलीबाट रचनात्मक योगदान दिँदै आएको बताउनुभयो।
विश्वव्यापी विकास प्रक्रियामा देखिएको अवरोधबीच चीनले साझेदार मुलुकहरूलाई सशक्त बनाउन सहयोग गर्दै आएको वाङको भनाइ थियो। उहाँका अनुसार वैश्विक विकास पहलमार्फत २३ अर्ब अमेरिकी डलरभन्दा बढी रकम परिचालन गरिएको छ। यसअन्तर्गत एक हजार आठ सयभन्दा बढी सहकार्य परियोजना सञ्चालन, विकासशील मुलुकका लागि १० हजारसम्म क्षमता अभिवृद्धि कार्यक्रम र विभिन्न क्षेत्रमा दुई लाखभन्दा बढी जनशक्ति प्रशिक्षण गरिएको छ।
वाङले यी प्रयासहरूले विशेष गरी ग्लोबल साउथका मुलुकहरूको विकासमा बलियो योगदान पुर्याएको बताउनुभयो। चीनले विकासशील मुलुकहरूको आवश्यकता, क्षमता र प्राथमिकतालाई केन्द्रमा राखेर सहयोग अघि बढाउँदै आएको उहाँको भनाइ थियो।
सार्वजनिक स्वास्थ्य सङ्कटका बेला पनि चीनले सहयोगलाई प्राथमिकता दिएको वाङले बताउनुभयो। सन् २०१५ मा पश्चिम अफ्रिकाका तीन देशलाई इबोला महामारीविरुद्ध लड्न चीनले पूर्ण सहयोग गरेको स्मरण गर्दै उहाँले अहिले प्रजातान्त्रिक गणतन्त्र कङ्गो र युगान्डामा देखिएको इबोला प्रकोप नियन्त्रणमा पनि चीनले आफ्नो क्षमताअनुसार सहयोग गर्न तयार रहेको बताउनुभयो। उहाँका अनुसार चिनियाँ चिकित्सक टोलीहरू अफ्रिकी साझेदारहरूसँगै मैदानमा खटिएका छन्।
बहुपक्षीयताविरुद्ध चुनौती बढिरहेका बेला चीन जिम्मेवारी वहन गर्न अझ सक्रिय रूपमा अघि बढेको वाङले उल्लेख गर्नुभयो। उहाँका अनुसार चीन संयुक्त राष्ट्रसङ्घको नियमित बजेटमा दोस्रो ठूलो योगदानकर्ता हो र उसले आफ्नो वित्तीय दायित्व इमानदारीपूर्वक पूरा गर्दै आएको छ।
चीनले चीन–संयुक्त राष्ट्र शान्ति तथा विकास कोष र वैश्विक विकास तथा दक्षिण–दक्षिण सहकार्य कोष स्थापना गरी प्रभावकारी रूपमा उपयोग गर्दै आएको वाङले बताउनुभयो। यी कोषमार्फत शान्ति, विकास र क्षमता अभिवृद्धिसँग सम्बन्धित विभिन्न कार्यक्रमहरू अघि बढाइएको छ।
वाङका अनुसार चीनले अन्तर्राष्ट्रिय मध्यस्थता सङ्गठन र विश्व डाटा सङ्गठन स्थापना गर्ने पहल गरेको छ। साथै, विश्व कृत्रिम बुद्धिमत्ता सहकार्य सङ्गठन स्थापनाको प्रस्ताव अघि सारेको र राष्ट्रिय अधिकारक्षेत्रभन्दा बाहिरका समुद्री जैविक विविधतासम्बन्धी सम्झौताको सचिवालय आयोजना गर्न चीन सक्रिय रूपमा तयार रहेको उहाँले जानकारी दिनुभयो।
विदेशमन्त्री वाङले यी सबै प्रयासलाई बहुपक्षीयताको स्तम्भ निर्माण गर्ने चीनका ठोस कदमका रूपमा व्याख्या गर्नुभयो। उहाँले संयुक्त राष्ट्रसङ्घ केन्द्रित अन्तर्राष्ट्रिय प्रणालीलाई कमजोर बनाउने होइन, अझ सुदृढ गर्ने दिशामा चीन निरन्तर सक्रिय रहने स्पष्ट पार्नुभयो।




