२७ जेष्ठ २०८३, बुधबार

युरेसियाको केन्द्रमा रुस–कजाखस्तान गठबन्धन सुदृढ हुँदै: राष्ट्रपति पुटिन

मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुस र कजाखस्तानबीचको सम्बन्ध साझा इतिहास, आपसी विश्वास, असल छिमेकीपन र बहुआयामिक सहकार्यमा आधारित रहेको बताउनुभएको छ।

कजाखस्तानको राजकीय भ्रमणअघि मे २६, २०२६ मा कजाखस्तान्स्काया प्राभ्दा पत्रिकामा प्रकाशित लेखमार्फत राष्ट्रपति पुटिनले दुई देशबीचको रणनीतिक साझेदारी र गठबन्धनलाई युरेसियाली क्षेत्रमा शान्ति, स्थिरता र सामाजिक–आर्थिक विकासका लागि महत्वपूर्ण आधारका रूपमा व्याख्या गर्नुभएको हो।

लेखमा राष्ट्रपति पुटिनले रुस र कजाखस्तानबीचको मैत्रीपूर्ण सम्बन्ध साझा इतिहास, सांस्कृतिक निकटता र जनस्तरका सम्बन्धबाट बलियो बनेको उल्लेख गर्नुभएको छ। उहाँका अनुसार दुई देशबीचको सहकार्य पारस्परिक सम्मान, विश्वास र समान हितका आधारमा अघि बढिरहेको छ।

राष्ट्रपति पुटिनले कजाखस्तानका राष्ट्रपति कासिम–जोमार्ट तोकायेभसँग आफ्नो सम्बन्ध विश्वासपूर्ण, मैत्रीपूर्ण र स्पष्ट संवादमा आधारित रहेको बताउनुभएको छ। उहाँले दुई नेताबीच हुने भेटवार्ता परिणाममुखी हुने गरेको उल्लेख गर्दै रुस–कजाखस्तान सम्बन्धलाई सबै क्षेत्रमा थप विस्तार गर्नु साझा प्राथमिकता भएको बताउनुभएको छ।

आर्थिक सहकार्यलाई दुई देशको साझेदारीको मुख्य आधारका रूपमा प्रस्तुत गर्दै पुटिनले पछिल्ला वर्षहरूमा रुस र कजाखस्तानबीचको निर्यात–आयात उच्च स्तरमा कायम रहेको उल्लेख गर्नुभएको छ। उहाँका अनुसार दुई देशबीचको व्यापारिक कारोबारमा राष्ट्रिय मुद्राको प्रयोग बढ्दै गएको छ, जसले आर्थिक सम्बन्धलाई थप स्थिर र व्यावहारिक बनाएको छ।

रुसी लगानीकर्ताहरू कजाखस्तानमा ७० ठूला परियोजनामा संलग्न रहेको लेखमा उल्लेख छ। ती परियोजना मोटर उद्योग, भारी इन्जिनियरिङ, रासायनिक उद्योग तथा अन्य प्रविधिमुखी क्षेत्रमा केन्द्रित छन्। यी परियोजनाबाट ६० हजारभन्दा बढी नयाँ रोजगारी सिर्जना भएको पुटिनले जनाउनुभएको छ।

ऊर्जा सहकार्यलाई पनि रुस–कजाखस्तान सम्बन्धको महत्वपूर्ण क्षेत्रका रूपमा उल्लेख गरिएको छ। क्यास्पियन पाइपलाइन कन्सोर्टियममार्फत कजाखस्तानको कुल तेल निर्यातमध्ये ८० प्रतिशतभन्दा बढी विश्व बजारमा पुर्‍याइने पुटिनले बताउनुभएको छ। यसले ऊर्जा क्षेत्रमा दुवै देशको आपसी निर्भरता र सहकार्यलाई अझ बलियो बनाएको उहाँको भनाइ छ।

शान्तिपूर्ण आणविक ऊर्जा सहकार्यलाई दीर्घकालीन द्विपक्षीय साझेदारीको महत्वपूर्ण स्तम्भका रूपमा चित्रण गर्दै पुटिनले कजाखस्तानमा निर्माण हुने पहिलो आणविक ऊर्जा केन्द्रलाई नयाँ प्रमुख परियोजनाका रूपमा प्रस्तुत गर्नुभएको छ। उक्त परियोजनामा रुसको रोसआटोम राज्य निगम संलग्न रहेको छ। अल्माटी क्षेत्रको बाल्खाश ताल नजिकै प्रस्तावित ऊर्जा केन्द्रस्थलमा गत वर्ष इन्जिनियरिङ कार्य सुरु गरिएको थियो।

अन्तरिक्ष क्षेत्रमा पनि सन् २०२६ लाई महत्वपूर्ण वर्षका रूपमा उल्लेख गरिएको छ। अप्रिल ३० मा बाइतेरेक कम्प्लेक्सबाट नयाँ पुस्ताको रुसी–कजाखस्तानी मध्यम क्षमताको सोयुज–५/सुनकार रकेट प्रक्षेपण गरिएको पुटिनले जनाउनुभएको छ। यो घटना मानव इतिहासको पहिलो अन्तरिक्ष उडानको ६५औँ वार्षिकोत्सवसँग जोडिएको प्रतीकात्मक उपलब्धि भएको उहाँले बताउनुभएको छ। युरी गागरिनले बाइकोनुर कोस्मोड्रोमबाट ऐतिहासिक अन्तरिक्ष यात्रा सुरु गरेको सन्दर्भमा उक्त प्रक्षेपणलाई विशेष महत्व दिइएको छ।

मानवीय, शैक्षिक, वैज्ञानिक र सांस्कृतिक सम्बन्धलाई पनि दुई देशबीचको सहकार्यको महत्वपूर्ण पक्षका रूपमा प्रस्तुत गरिएको छ। पुटिनका अनुसार ६० हजारभन्दा बढी कजाख विद्यार्थीहरू रुसी विश्वविद्यालयहरूमा अध्ययनरत छन्। तीमध्ये केही विद्यार्थीहरू कजाखस्तानमै रहेका रुसी विश्वविद्यालयका आठ शाखामा अध्ययन गरिरहेका छन्। आगामी शैक्षिक वर्षका लागि कजाख विद्यार्थीलाई उपलब्ध गराइने सरकारी कोटा ८०० पुर्‍याइएको छ।

मस्को स्टेट युनिभर्सिटी र एमजीआईएमओ लगायतका शीर्ष रुसी विश्वविद्यालयका कजाखस्तानस्थित शाखाहरू सफलतापूर्वक सञ्चालनमा रहेको पुटिनले लेखमा उल्लेख गर्नुभएको छ। उहाँले शिक्षा र वैज्ञानिक आदानप्रदानले दुई देशका नयाँ पुस्ताबीच आपसी समझदारी र दीर्घकालीन सम्बन्ध बलियो बनाउन मद्दत गर्ने विश्वास व्यक्त गर्नुभएको छ।

राष्ट्रपति पुटिनले रुस र कजाखस्तानका जनताले साझा इतिहासलाई सदैव सम्मान गर्दै आएको बताउनुभएको छ। विशेष गरी महान् देशभक्तिपूर्ण युद्धमा नाजीवादविरुद्ध दुवै देशका पूर्वजहरूले देखाएको साहस र बलिदानलाई दुई देशले साझा गौरवका रूपमा लिने गरेको उहाँले उल्लेख गर्नुभएको छ। मे ८–९ मा महान् विजयको ८१औँ वार्षिकोत्सवका अवसरमा राष्ट्रपति तोकायेभको मस्को भ्रमणलाई रुसले उच्च मूल्याङ्कन गरेको पुटिनले बताउनुभएको छ।

हालको भूराजनीतिक अस्थिरताबीच क्षेत्रीय सहकार्य संयन्त्रहरूको भूमिका अझ महत्वपूर्ण बन्दै गएको पुटिनको भनाइ छ। उहाँले रुस र कजाखस्तान सक्रिय रूपमा सहभागी रहेका युरेसियाली आर्थिक सङ्घ, स्वतन्त्र राष्ट्रहरूको राष्ट्रमण्डल, सामूहिक सुरक्षा सन्धि सङ्गठन, शाङ्हाई सहयोग सङ्गठन, एसियामा अन्तरक्रिया तथा विश्वास निर्माण उपायसम्बन्धी सम्मेलन र रुस–मध्य एसिया ढाँचालाई क्षेत्रीय स्थिरता र सहकार्यका महत्वपूर्ण आधारका रूपमा उल्लेख गर्नुभएको छ।

पुटिनले युरेसियाली आर्थिक सङ्घको आगामी शिखर सम्मेलन अस्तानामा हुन लागेको सन्दर्भ पनि उल्लेख गर्दै क्षेत्रीय आर्थिक एकीकरण, सुरक्षा संवाद र बहुपक्षीय सहकार्यलाई थप सुदृढ गर्न रुस र कजाखस्तानको भूमिका महत्वपूर्ण हुने बताउनुभएको छ।

लेखको अन्त्यमा राष्ट्रपति पुटिनले रुसी महासङ्घ कजाखस्तान गणतन्त्रसँगको बहुआयामिक गठबन्धन सम्बन्धलाई सबै सम्भव क्षेत्रमा थप विकास गर्न तयार रहेको स्पष्ट पार्नुभएको छ। उहाँले आगामी भ्रमणका क्रममा हुने वार्ताले रुस–कजाखस्तान साझेदारीलाई थप सुदृढ बनाउन शक्तिशाली प्रेरणा दिने विश्वास व्यक्त गर्नुभएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button