सिंहदरबार छाडेर दुर्गम जाने पालो कर्मचारी नेताको, २० जना डाँडा कटाइए

काठमाडौं — एक दशकभन्दा लामो समयदेखि सिंहदरबारको तातो कोठामा बसेर राजनीति गरिरहेका कर्मचारी नेताहरू अब चिसो डाँडाका कार्यालय पुग्ने भएका छन्। सरकारले पेसागत ट्रेड युनियन खारेज गरेको भोलिपल्टै २० जना नायब सुब्बालाई दुर्गम सरुवा गरेको हो।
ती कर्मचारी गृह मन्त्रालयअन्तर्गतको कार्यालयमा दरबन्दी कायम गराएर बस्थे तर कार्यालयको कामभन्दा राजनीतिक भेला र दबाबमूलक गतिविधिमै व्यस्त हुन्थे। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले उनीहरूको यो ‘सुविधाजनक बसाइ’को अन्त्य गर्दै एकैपटक डाँडा कटाउने निर्णय लिएको छ।
“यिनीहरू कार्यालयमा हाजिर हुन्थे, तर काममा होइन, राजनीतिमा,” एक अधिकारी भन्छन्, “कांग्रेस, एमाले र नेकपा सत्तामा हुँदा यिनीहरूले कर्मचारीतन्त्रभित्र समानान्तर सत्ता चलाए।”
सरकारले निजामती सेवालाई राजनीतिक हस्तक्षेपमुक्त बनाउने घोषणा गरेपछि यो पहिलो ठोस कदम हो। ट्रेड युनियन खारेजीविरुद्ध आवाज उठाउन सक्ने आँकलन गर्दै मन्त्रालयले पूर्वतयारीका रूपमा नेताहरूलाई राजधानीबाट टाढा पठाएको बुझिएको छ। अब उनीहरूले दुर्गमका कार्यालयबाट सेवा प्रवाहको अनुभव लिनेछन् — जुन उनीहरूका लागि नौलो अनुभव हुने निश्चित छ।





