५ असार २०८३, शुक्रबार

माईखोला पहिरोको जड पुवाखोला जलविद्युत आयोजनाको टनेल हुनसक्ने प्रारम्भिक निष्कर्ष

इलाम — वर्षौंदेखि भासिँदै, बग्दै र पटक–पटक अवरुद्ध हुँदै आएको मेची राजमार्गअन्तर्गत इलामको माईखोला (राजदुवाली) सडकखण्डको समस्याको जड पुवाखोला जलविद्युत आयोजनाको सुरुङ हुनसक्ने प्रारम्भिक अध्ययनले देखाएको छ।

जिल्ला प्रशासन कार्यालय इलाम र सरोकारवालाको स्थलगत अध्ययनका क्रममा जलविद्युत आयोजनाको ‘पेनस्टक पाइप’ बाट अत्यधिक पानी चुहिएको भेटिएपछि सोही पानी पहिरोको जड हुनसक्ने प्राविधिकहरूले औंल्याएका हुन्।

प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकाल र सडक डिभिजन कार्यालय इलामका प्रमुख इन्जिनियर पवन भट्टराईसहितको टोलीले जलविद्युत आयोजनाको सुरुङ मार्गको डेढ किलोमिटर दूरी स्थलगत निरीक्षण गरेको थियो। सो क्रममा झन्डै २०० मिटर क्षेत्रमा पेनस्टक पाइप अत्यधिक चर्किएको र पानी चुहिरहेको अवस्थामा भेटिएको इन्जिनियर भट्टराईले जानकारी दिए।

“स्थलगत अनुगमनका क्रममा टनेलमा अत्यधिक क्र्याक देखिएको हुँदा राजदुवालीको सिपेजको समस्यामा प्रत्यक्ष असर परेको प्रारम्भिक निष्कर्ष निकालियो,” उनले भने, “हाइड्रोलाई तुरुन्त विस्तृत अध्ययन गरी प्रभावकारी सुधार गर्न अनुरोध गरिसकिएको छ।”

प्रारम्भिक अध्ययनमा पानी चुहिएको देखिए पनि पहिरोको मुख्य कारण पत्ता लगाउन उच्चस्तरीय प्राविधिक टोली झिकाउने प्रक्रिया थालिएको भट्टराईले बताए। उनका अनुसार पाइपभित्रको अवस्था अस्वाभाविक देखिएपछि हेडट्याङ्कमा जमेको माटो हटाउन पानी सुकाइएको छ। त्यहाँ पनि चर्किएको हुनसक्ने आशंका गरिएको छ।

हालसम्म समस्याको कारण पत्ता लगाउन गरिएका सबै प्रयास विफल भएपछि जलविद्युत आयोजनाका संरचनाको स्थलगत अध्ययन गर्ने निर्णयमा पुगेको प्रमुख जिल्ला अधिकारी ढकालले बताए। स्थानीयले लगातार हाइड्रोको सुरुङबाट पानी चुहिने गरेको बताएपछि प्रशासनले पहिलोपटक आयोजनाको संरचना निरीक्षण गरेको हो।

२०७२ सालको भूकम्पपछि यस क्षेत्रमा समस्या झन् जटिल बन्दै गएको स्थानीय बताउँछन्। गत असोज १८ गतेको वर्षापछि यही खण्डमा ठूलो पहिरो जाँदा मेची राजमार्ग १२ दिन पूर्ण अवरुद्ध भएको थियो। अहिले पनि माईखोलामाथि अस्थायी संरचना बनाएर सवारी सञ्चालन गरिँदै आएको छ।

सडक डिभिजनले खोलाबाट करिब १० मिटर अग्लो ढलौट पर्खाल निर्माण, पाइपमार्फत पानी निकास र माथिल्लो भागको सडक जोगाउने प्रयास गरिरहेको छ। तर, लगातार वर्षा, खोलामा आउने बाढी र माथिबाट झर्ने पहिरोका कारण काम प्रभावकारी हुन नसकेको अधिकारीहरू बताउँछन्।

यो सडक इलाम, पाँचथर र ताप्लेजुङलाई जोड्ने भरपर्दो स्थल मार्ग हो। पटक–पटक सडक अवरुद्ध हुँदा यात्रु आवागमनदेखि दैनिक उपभोग्य वस्तुको ढुवानीसम्म प्रभावित हुने गरेको छ। वैकल्पिक सडकहरू पनि पूर्ण रूपमा सञ्चालनमा आउन सकेका छैनन्। यसैबीच, राजदुवालीस्थित पुरानो माईखोला पुलको मर्मतसमेत भइरहेको छ र त्यसको करिब ६० प्रतिशत काम सकिएको जनाइएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button