गोला प्रक्रिया हटाइँदैन : सर्वोच्च अदालत

काठमाडौँ। सर्वोच्च अदालतले अदालतहरूमा लागू गरिएको गोला प्रक्रियाद्वारा मुद्दाको पेसी व्यवस्थापन गर्ने विद्यमान प्रणालीलाई परिवर्तन नहुने स्पष्ट पारेको छ।
वरियता मिचेर मनोजकुमार शर्मालाई प्रधानन्यायाधीश नियुक्त गरेपछि अब गोला प्रणाली पनि हटाउने तयारी गरिएको भन्दै नेपाल बार एसोसिएसनलगायत न्यायपालिका सम्बद्ध संस्था तथा व्यक्तिले आपत्ति जनाइरहेका बेला सर्वोच्च प्रशासनले विकल्प खोज्ने कुनै औपचारिक छलफल वा सोच नभएको प्रस्ट पारेको हो।
विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा गोला प्रक्रियाको विकल्प खोजिँदैछ भन्ने समाचार सम्प्रेषण भएको भन्दै सर्वोच्च अदालतका प्रवक्ता एवं सहरजिस्ट्रार अर्जुनप्रसाद कोइरालाले गोला प्रक्रिया कायमै रहने बताए। उनले ‘अदालतहरूमा गोला प्रक्रियाद्वारा पेसी व्यवस्थापन सम्बन्धी कार्यविधि निर्देशिका, २०७८’ जारी भएबमोजिम नै नियमित रूपमा मुद्दाको पेसी व्यवस्थापन भइरहेको अवस्थामा त्यसलाई नहटाउने जनाए।
प्रधानन्यायाधीशले स्वविवेकमा पेसी तोक्दा विकृति आएको भन्दै चोलेन्द्र शमशेर जबरा प्रधानन्यायाधीश भएका बेला बार र न्यायाधीशकै आन्दोलनका कारण गोला प्रणाली थालिएको थियो।






