१३ असार २०८३, शनिबार

कोशी प्रदेशसभामा नीति तथा कार्यक्रम पारित प्रक्रियामा प्रतिपक्षको अवरोध, सांसद राईले रोष्टमबाट माइक्रोफोन फाल्न खोजेपछि बैठक स्थगित

विराटनगर। कोशी प्रदेशसभा बैठकमा प्रतिपक्षी दलले बुधबार पनि विरोध जनाएका छन्। प्रदेश सरकारको नीति तथा कार्यक्रम पारित गर्ने प्रक्रियालाई लिएर प्रतिपक्षी दलले बैठक अवरुद्ध गरेका छन्। यही विषयलाई लिएर दलहरूले मङ्गलबार पनि बैठक अवरुद्ध गरेका थिए।

सभामुख अम्बरबहादुर विष्टले संशोधनको समय नदिई नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित भएको घोषणा गरेपछि प्रतिपक्षी दलले अवरोध गर्दै आएका हुन्। प्रतिपक्षी दलका नेता इन्द्रबहादुर आङ्बोले संसदीय परम्परा मिचिएको आरोप लगाउँदै सर्वसम्मत नभई बहुमतका आधारमा पारित भएको रेकर्ड हुनुपर्ने माग गरेका थिए।

सभामुखले सो विषय रेकर्डमा रहने जानकारी दिँदै बैठक अघि बढाउन खोजेका थिए। तर, प्रतिपक्षको विरोध भइरहँदा सभामुख विष्टले जनता समाजवादी पार्टीकी सांसद निर्मला तावा लिम्बुलाई बोल्ने समय दिएपछि नेकपा सांसद तथा पूर्वमुख्यमन्त्री राजेन्द्र राई आक्रोशित भए। उनले विरोध गर्दै रोष्टमबाट माइक्रोफोन फाल्न खोजेका थिए, तर मर्यादापालकले उनलाई रोके।

सभामुख विष्टले छलफलका क्रममा कसैले पनि संशोधन प्रस्ताव नराखेको र ‘हुन्न’ भन्ने आवाज नआएकाले नियमावलीअनुसार नै सर्वसम्मति मानिएको दाबी गरे। प्रतिपक्षको लगातारको अवरोध र रोष्टम घेराउका कारण बैठक आधा घण्टाका लागि स्थगित भएको थियो। यद्यपि, प्रतिपक्षी दलहरूले आफ्नो माग सम्बोधन नभएसम्म सदन अघि बढाउन नदिने अडान राख्दै आएका छन्।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button