५ असार २०८३, शुक्रबार

मुगुमा आजदेखि यार्सागुम्बा सङ्कलन खुला, जिल्ला बाहिरकाका लागि प्रतिव्यक्ति २५ सय शुल्क

मुगु। मुगुम कार्मारोङ गाउँपालिकाले बहुमूल्य जडीबुटी यार्सागुम्बा सङ्कलनका लागि आजदेखि वन प्रवेश खुला गरेको छ। गाउँपालिकाले जेठ १३ गतेदेखि असार १३ गतेसम्मका लागि यार्सा सङ्कलन अनुमति प्रदान गर्ने जनाएको छ।

गाउँपालिका अध्यक्ष छिरिङ क्याप्ने लामाका अनुसार यार्सागुम्बा सङ्कलनका लागि आवश्यक ‘छोडपुर्जी’ वितरण कार्य आजदेखि सुरु गरिएको छ। जिल्ला बाहिरबाट आउने सङ्कलनकर्ताका लागि प्रतिव्यक्ति दुई हजार पाँच सय रुपैयाँ तथा जिल्लाभित्रकाका लागि दुई हजार रुपैयाँ वन प्रवेश शुल्क तोकिएको उनले बताए।

गाउँपालिकाका अनुसार छापाखोला, रिमार, तल्लो कुईकी, माथिल्लो कुईकी, छुगोल्डुङ, हाङ्दाङखोला र माजिङथानलगायत उच्च हिमाली क्षेत्र यार्सागुम्बा पाइने मुख्य पाटनका रूपमा परिचित छन्। यी क्षेत्रलाई यार्सागुम्बा सङ्कलनका लागि उर्वर भूमि मानिन्छ।

हरेक वर्ष मुगुसहित हुम्ला, जुम्ला, कालिकोट, जाजरकोट तथा सुर्खेतलगायत जिल्लाबाट ठूलो सङ्ख्यामा सङ्कलनकर्ता यार्सा टिप्न मुगु पुग्ने गरेका छन्। यार्सा सङ्कलन सुरु भएसँगै हिमाली बस्ती तथा पाटन क्षेत्रमा चहलपहल बढेको स्थानीयले बताएका छन्।

गाउँपालिकाले ‘छोडपुर्जी’ प्रणालीमार्फत अनुमति वितरण गर्दै आएको छ। उक्त प्रणालीबाट हरेक वर्ष लाखौं रुपैयाँ राजस्व सङ्कलन हुने गरेको गाउँपालिकाको भनाइ छ। यार्सागुम्बा सङ्कलनबाट स्थानीयवासीले मौसमी आम्दानी गर्ने भएकाले यसले हिमाली क्षेत्रको अर्थतन्त्रमा समेत महत्त्वपूर्ण योगदान पुर्याउँदै आएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button