१३ असार २०८३, शनिबार

पत्रकार किशोर श्रेष्ठमाथिको प्रहरी निगरानी र स्रोत खुलाउन दबाबको विश्व प्रेस काउन्सिलद्वारा निन्दा

काठमाडौँ। विश्व प्रेस काउन्सिल (डब्लुएपिसी) ले जनआस्था साप्ताहिक र जनआस्था डटकमका प्रधानसम्पादक तथा अध्यक्ष किशोर श्रेष्ठमाथि गरिएको प्रहरी निगरानी र समाचारका स्रोत खुलाउन दिइएको दबाबको निन्दा गरेको छ। काउन्सिलले एक विज्ञप्ति जारी गर्दै समाचारका स्रोत खुलाउन दबाब दिने कार्यले प्रेस स्वतन्त्रता र स्रोत सुरक्षाको मर्ममाथि गम्भीर प्रहार गरेको जनाएको हो।

प्रेस काउन्सिल नेपालका पूर्वअध्यक्ष तथा विश्व प्रेस काउन्सिलका उपाध्यक्षसमेत रहेका पत्रकार श्रेष्ठलाई त्रास देखाएर प्रतिशोधपूर्ण व्यवहार गरिनु लोकतान्त्रिक मूल्य र पत्रकारिताको अन्तर्राष्ट्रिय मापदण्डविपरीत रहेको काउन्सिलको ठहर छ।

काउन्सिलका अध्यक्ष डेभिड ओमवोयोले भनेका छन्, ‘प्रेस स्वतन्त्रता लोकतन्त्रको आधारशिला हो। कुनै पनि पत्रकारलाई समाचार लेखेकै कारण डर, धम्की, प्रहरी निगरानी र मानसिक यातना दिइनु पूर्णतः गलत हो। हामी नेपालका सबै सरोकारवाला निकायलाई प्रेस स्वतन्त्रताको रक्षा गर्न, पत्रकार श्रेष्ठको सुरक्षा सुनिश्चित गर्न र भयरहित पत्रकारिता गर्ने वातावरण निर्माण गर्न आग्रह गर्दछौं।’

सरकारको आलोचनात्मक र खबरदारीपूर्ण समाचार लेखेकै कारण पत्रकार श्रेष्ठमाथि मानसिक दबाब सिर्जना गरिएको निष्कर्ष निकालेको काउन्सिलले त्यस्ता कार्य तत्काल बन्द गर्न पनि आग्रह गरेको छ। पत्रकारलाई कुनै पनि दबाब र हस्तक्षेपबिना समाचार लेख्न दिइनुपर्नेमा काउन्सिलको जोड छ।

यसअघि, नेपाल पत्रकार महासङ्घसहित विभिन्न पत्रकार सङ्गठनहरूले पनि पत्रकार श्रेष्ठमाथि गरिएको ‘मिडिया ट्रायल’ प्रति विरोध जनाउँदै प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारको ध्यानाकर्षण गराएका थिए।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button