५ असार २०८३, शुक्रबार

यसपालि पनि रासायनिक मलको अभाव हुने सङ्केत, मौज्दातमा जम्मा ३९ हजार मेट्रिक टन मात्र

काठमाडौँ। हरेक वर्षजस्तै यसपालि पनि रासायनिक मलको अभाव हुने सम्भावना देखिएको छ। साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले हाल मलको मौज्दात न्यून रहेको जानकारी गराएको हो।

कर्पोरेसनका नायब कार्यकारी अधिकृत कुमार राजभण्डारीले अब जम्मा ३९ हजार मेट्रिक टन मात्र मल मौज्दात रहेको बताए। बुधबार संसद्को कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा बोल्दै उनले अन्तर्राष्ट्रिय क्षेत्रमा देखिएको सङ्कट, बजेट अभाव र बन्दरगाह क्षमताको समस्याका कारण पर्याप्त मल आयात गर्न नसकिएको स्पष्टीकरण दिए।

कम्पनीले चालु आर्थिक वर्षमा करिब एक लाख २६ हजार मेट्रिक टन रासायनिक मल बिक्री गरेको पनि जानकारी गराएको छ। साल्ट ट्रेडिङसँग मल मौज्दात कम रहे पनि आपूर्ति निरन्तर राख्ने तयारी भइरहेको राजभण्डारीले बताए।

कृषि मन्त्रालयले हरेक वर्ष पुस महिनामै आगामी वर्षको मल खरिद कार्यक्रम र टेन्डर प्रक्रिया सुरु गर्ने गरे पनि बजेटका आधारमा विनियोजन हुँदा समस्या भएको उनको भनाइ छ। मलको भाउ अन्तर्राष्ट्रिय बजारअनुसार घटबढ हुने हुँदा सरकारले छुट्याएको रकम पर्याप्त नभएको राजभण्डारीले बताए। सरकारले पाँच लाखदेखि छ लाख टन मल आपूर्तिको लक्ष्यसहित बजेट व्यवस्था गरेमा मल व्यवस्थापन सहज हुने उनको भनाइ छ।

आर्थिक वर्ष २०८३/८४ का लागि कृषि मन्त्रालयले करिब २० अर्ब रुपैयाँ बराबरको कार्यक्रमअन्तर्गत ९५ हजार मेट्रिक टन मल खरिदको प्रक्रिया अघि बढाइसकेको पनि राजभण्डारीले जानकारी दिए। यसअन्तर्गत ३० हजार टन डीएपीको टेन्डर गरी खरिद सम्झौता भइसकेको तथा सोही परिमाणमा युरियाको टेन्डर प्रक्रिया अगाडि बढाइएको उनले बताए। थप ३० हजार टन मलका लागि प्राविधिक प्रस्ताव खोलिएको र केही दिनमै मूल्य प्रस्ताव खोलिने जानकारी पनि उनले दिए।

एमओपी (पोटास) तर्फ पाँच हजार टनको टेन्डर प्रक्रिया पूरा भइसकेको राजभण्डारीले जनाए। त्यसमध्ये दुई हजार पाँच सय टन नेपाल आइसकेको र बाँकी दुई हजार पाँच सय टन ढुवानी प्रक्रियामा रहेको उनले बताए। उनका अनुसार आगामी असार मसान्तसम्म ३० हजार टन युरिया नेपाल आइपुग्ने मौखिक आश्वासन आपूर्तिकर्ताबाट प्राप्त भएको छ। उक्त मल समयमै आइपुगे हाल मौज्दातमा रहेको ३९ हजार टनसँगै करिब ७० हजार मेट्रिक टन मल बजारमा पठाउन सकिने अवस्था रहनेछ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button