१३ असार २०८३, शनिबार

अर्थमन्त्री वाग्लेद्वारा आर्थिक सर्वेक्षण संसद्मा प्रस्तुत, अर्थतन्त्रको आकार ६६ खर्ब नाघ्यो

काठमाडौँ। अर्थमन्त्री स्वर्णिम वाग्लेले बुधबार सङ्घीय संसद्मा चालु आर्थिक वर्ष २०८२/८३ को आर्थिक सर्वेक्षण प्रस्तुत गरेका छन्। सर्वेक्षणअनुसार नेपाली अर्थतन्त्रको आकार ६६ खर्ब ९ करोड रुपैयाँ पुगेको छ।

आर्थिक सर्वेक्षण प्रस्तुत गर्दै अर्थमन्त्री वाग्लेले विश्व अर्थतन्त्रमा देखिएको अनिश्चितता र क्षेत्रीय द्वन्द्वका बाबजुद नेपालको समष्टिगत आर्थिक सूचकहरूमा सुधार देखिएको र सामाजिक क्षेत्रमा सन्तोषजनक प्रगति भएको बताए। सर्वेक्षणमा चालु आर्थिक वर्षमा अर्थतन्त्र ३.८५ प्रतिशतले विस्तार हुने र प्रतिव्यक्ति राष्ट्रिय आय एक हजार ५३५ अमेरिकी डलर पुग्ने प्रक्षेपण गरिएको छ। प्रदेशगत रूपमा वागमती र गण्डकी प्रदेशको वृद्धिदर राष्ट्रिय औसतभन्दा माथि रहे पनि अन्य प्रदेशको भने न्यून रहने देखिएको छ।

सर्वेक्षणअनुसार कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान २४ प्रतिशत र गैर–कृषि क्षेत्रको ७६ प्रतिशत रहने अनुमान छ। आर्थिक गतिविधिमा वागमती प्रदेशको दबदबा कायम छ, जसले कुल गार्हस्थ्य उत्पादनमा ३६.७ प्रतिशत योगदान पुर्याएको छ। यद्यपि, प्रमुख खाद्यान्न बाली धानको उत्पादनमा भने ४.२० प्रतिशतले सङ्कुचन आई ५७ लाख पाँच हजार मेट्रिक टनमा सीमित भएको सर्वेक्षणले देखाएको छ।

अर्थमन्त्री वाग्लेले चालु आर्थिक वर्षको फागुनसम्ममा सङ्घीय राजस्व ३.२ प्रतिशतले वृद्धि भएको जानकारी दिए। उनका अनुसार सरकारी खर्च १०.४ प्रतिशतले बढे पनि पुँजीगत खर्चमा भने उल्लेख्य सुधार हुन सकेको छैन। सरकारको कुल सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब पुगेको छ, जुन कुल गार्हस्थ्य उत्पादनको ४३.६ प्रतिशत हो। यसै वर्ष सरकारले तीन खर्ब सार्वजनिक ऋण परिचालन गरेको छ।

वाग्लेले देशको बाह्य क्षेत्र निकै बलियो देखिएको बताए। उनका अनुसार विप्रेषण आप्रवाह ३७.७ प्रतिशतले बढेर १४ खर्ब ५० अर्ब पुगेको छ। विदेशी विनिमय सञ्चिति ३४ खर्ब १४ अर्ब पुग्दै ऐतिहासिक उचाइमा पुगेको छ, जसले १८.५ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त छ। यद्यपि, व्यापार घाटा ११.२ प्रतिशतले बढेर १० खर्ब ९८ अर्ब पुग्नु अर्थतन्त्रका लागि चुनौती बनेको छ।

आर्थिक सर्वेक्षणअनुसार प्रविधिमैत्री भुक्तानीमा उल्लेख्य प्रगति भएको छ। फागुन महिनासम्म क्यूआर कोडमार्फत हुने कारोबार एक खर्ब २५ अर्ब नाघेको छ। यस्तै, सन् २०२५ को सार्वभौम क्रेडिट रेटिङमा नेपालले ‘बीबी–’ स्टेबल आउटलुक प्राप्त गरेको छ, जसले अन्तर्राष्ट्रिय स्तरमा नेपालको साख सुध्रिएको सङ्केत गर्छ।

मुद्रास्फीति भने नियन्त्रणमै रहेको छ, जुन औसत २.१३ प्रतिशत छ। मानव विकासका सूचकहरूमा प्रगति देखिन्छ। मानव विकास सूचकाङ्क ०.६२२ र नेपालीको औसत आयु ७१.३ वर्ष पुगेको छ। स्वास्थ्य क्षेत्रमा मातृ मृत्युदर प्रतिलाख १५१ र पाँच वर्षमुनिको बाल मृत्युदर प्रतिहजार ३३ मा झरेको छ। शिक्षातर्फ आधारभूत तहको खुद भर्ना दर ९७.८ प्रतिशत पुगेको छ भने स्वास्थ्य बीमा र सामाजिक सुरक्षा कोषमा नागरिकको आबद्धता बढ्दो क्रममा रहेको आर्थिक सर्वेक्षणमा उल्लेख गरिएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button