नेपाल पत्रकार महासङ्घद्वारा सबै सञ्चारमाध्यमलाई कालो राख्न आह्वान, सरकारी विज्ञापन निर्णयविरुद्ध चरणबद्ध दबाबमूलक अभियान

काठमाडौँ। नेपाल पत्रकार महासङ्घले सबै सञ्चारमाध्यमलाई आज जेठ १४ गते सम्पादकीय वा अन्य स्थानमा कालो राख्न आह्वान गरेको छ। सरकारले प्रेस स्वतन्त्रता नियन्त्रणको अभ्यास गरिरहेको आरोप लगाउँदै महासङ्घले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको निर्णय खारेजीको माग गरेको छ।
महासङ्घले बुधबार जारी गरेको विज्ञप्तिमा सरकारले पत्रकारलाई निगरानी राख्ने, त्रास सिर्जना गर्ने, समाचार सङ्कलनमा अवरोध गर्ने, श्रमजीवी पत्रकारको श्रम अधिकार सुरक्षा नगर्ने तथा आर्थिक नाकाबन्दी लगाउने कार्य गरिरहेको अवगतै रहेको जनाएको छ।
महासङ्घका अनुसार खर्च कटौतीको बहानामा सबै तहको सरकारी सूचना र विज्ञापन राज्य नियन्त्रित सञ्चारमाध्यमलाई मात्र दिने प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको २०८२ चैत १८ गतेको स्वेच्छाचारी र विभेदकारी निर्णयबाट देशका सबै सामुदायिक तथा निजी सञ्चारमाध्यमको दिगोपन र श्रमजीवी पत्रकारको पेसागत सुरक्षामाथि गम्भीर अवस्था सिर्जना भएको छ। उक्त निर्णय खारेजीको माग गर्दै महासङ्घले चरणबद्ध दबाबमूलक अभियान सञ्चालन गरिरहेको छ।
यसअघि भएका दबाबमूलक अभियानमा साथ र समर्थन गर्ने सञ्चारमाध्यमप्रति महासङ्घले आभार प्रकट गरेको छ। विज्ञप्तिमा महासचिव रामप्रसाद दाहालले अभियानकै क्रममा जेठ १४ गते सम्पादकीय वा अन्य स्थानमा कालो राख्ने निर्णय भएबमोजिम आन्दोलनमा ऐक्यबद्धता प्रकट गर्न देशका सबै सञ्चारमाध्यमलाई आह्वान गरेका छन्।





