नेपाली नागरिकलाई श्रीलङ्काको पर्यटक भिसा निःशुल्क

काठमाडौं । श्रीलङ्का सरकारले नेपाली नागरिकका लागि निःशुल्क पर्यटक भिसा सुविधा लागू गरेको छ। काठमाडौंस्थित श्रीलङ्काली दूतावासले सूचना जारी गर्दै नेपाली नागरिकले पर्यटन प्रयोजनका लागि श्रीलङ्का भ्रमण गर्दा निःशुल्क इलेक्ट्रोनिक ट्राभल अथोराइजेसन, ईटीए, प्राप्त गर्न सक्ने जनाएको हो।
दूतावासका अनुसार श्रीलङ्का सरकारले नेपालसहित ४० देशका नागरिकका लागि निःशुल्क पर्यटक भिसा, ईटीए, सुविधा सुरु गरेको छ। यो सुविधा २५ मे २०२६ देखि लागू भएको जनाइएको छ।
नयाँ व्यवस्थाअनुसार श्रीलङ्का भ्रमण गर्न चाहने नेपाली पर्यटकले ३० दिनका लागि दोहोरो प्रवेश सुविधा भएको पर्यटक भिसा निःशुल्क प्राप्त गर्न सक्नेछन्। यसले नेपालबाट श्रीलङ्का जाने पर्यटक, धार्मिक यात्रु तथा घुमफिरका लागि जाने सर्वसाधारणलाई सहज बनाउने अपेक्षा गरिएको छ।
दूतावासले श्रीलङ्का जान चाहने यात्रुलाई आगमनअघि नै आधिकारिक वेबसाइटमार्फत ईटीए लिन आग्रह गरेको छ। यात्रुले आवश्यक परे काठमाडौंस्थित श्रीलङ्काली दूतावासमा सम्पर्क गरेर पनि थप जानकारी तथा सहयोग लिन सक्नेछन्।
श्रीलङ्का दक्षिण एसियाको प्रमुख पर्यटन गन्तव्यमध्ये एक हो। समुद्री तट, बौद्ध धार्मिक स्थल, ऐतिहासिक सम्पदा, सांस्कृतिक विविधता र प्राकृतिक सौन्दर्यका कारण श्रीलङ्का नेपाली पर्यटकका लागि पनि आकर्षक गन्तव्य मानिन्छ।
निःशुल्क पर्यटक भिसा सुविधाले नेपाल र श्रीलङ्काबीचको जनस्तरको सम्बन्ध, पर्यटन आदानप्रदान र क्षेत्रीय सहकार्यलाई थप सुदृढ बनाउने विश्वास गरिएको छ। दूतावासले यस व्यवस्थाबाट नेपाली नागरिकलाई श्रीलङ्का भ्रमण गर्न थप सहज हुने जनाएको छ।





