१३ असार २०८३, शनिबार

आचारसंहिता उल्लङ्घनका प्रवृत्तिप्रति प्रेस काउन्सिलको चेतावनी

काठमाडौं । प्रेस काउन्सिल नेपालले पछिल्लो समय सञ्चारमाध्यम, पत्रकार तथा सामाजिक सञ्जालसँग जोडिएका केही गतिविधि पत्रकार आचारसंहिताविपरीत देखिएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

काउन्सिलले जारी गरेको प्रेस विज्ञप्तिमा आचारसंहिता प्रतिकूल सामग्रीसम्बन्धी उजुरी र जनगुनासो बढ्दै गएको उल्लेख गरिएको छ। प्राप्त उजुरी तथा गुनासाका आधारमा काउन्सिलले पत्रकार आचारसंहिताले निर्धारण गरेको प्रक्रियाअनुसार अनुगमन र कारबाही गर्दै आएको जनाएको छ।

काउन्सिलका अनुसार पछिल्लो समय स्वअनुगमनका क्रममा केही गम्भीर प्रवृत्ति देखिएका छन्। यस्ता गतिविधिले पत्रकारिता क्षेत्रको विश्वसनीयता, मर्यादा र प्रेस स्वतन्त्रताको दुरुपयोगको जोखिम बढाएको काउन्सिलको निष्कर्ष छ।

विज्ञप्तिमा अनलाइन न्युज पोर्टल दर्ता गरे पनि त्यसबाट नियमित समाचार सामग्री प्रकाशन नगरी मिडियाको नाम वा सम्बद्ध सञ्चारकर्मी तथा सञ्चार संस्थासँग जोडिएका सामाजिक सञ्जालमार्फत अपुष्ट सामग्री फैलाउने प्रवृत्ति बढेको उल्लेख छ। विशेषगरी युट्युब च्यानल, फेसबुक पेज, रिललगायत माध्यमबाट भ्युज र मोनेटाइजेसनलाई केन्द्रमा राखेर अफवाहजन्य सामग्री सम्प्रेषण भइरहेको काउन्सिलले जनाएको छ।

त्यस्तै, अनुमतिबिना अस्पताल, विद्यालय, सरकारी कार्यालयजस्ता सार्वजनिक निकायमा प्रवेश गरी अमर्यादित शैली र व्यवहार प्रस्तुत गर्ने, हुलहुज्जत तथा दुर्व्यवहारजन्य गतिविधि गर्ने, विद्यालय परिसरमा गई अभिभावक, शिक्षक वा संरक्षकको अनुमतिबिना बालबालिकासँग अन्तर्वार्ता लिएर भिडियो अपलोड गर्ने प्रवृत्तिप्रति पनि काउन्सिलले आपत्ति जनाएको छ।

काउन्सिलले सञ्चारमाध्यममा प्रकाशित सामग्री वा समाचार लेखेकै आधारमा पत्रकार तथा सञ्चारकर्मीमाथि विभिन्न आरोप लगाउने, सामाजिक सञ्जालमार्फत गालीगलौज गर्ने, धम्की दिने र धरपकडको प्रयास गर्ने कार्य प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताविपरीत भएको स्पष्ट पारेको छ।

विज्ञप्तिमा तथ्यहीन र अपुष्ट आरोपलाई व्यक्तिको चरित्र तथा गोपनीयतामा प्रतिकूल असर पर्ने गरी प्रकाशन वा प्रसारण गर्ने प्रवृत्ति पनि बढेको उल्लेख छ। काउन्सिलले यस्ता सामग्री तथ्य परीक्षण नगरी भ्युज बढाउने उद्देश्यले सामाजिक सञ्जालमा शेयर गर्ने, छोटा भिडियो बनाउने र रिल वा पेजमार्फत प्रसारण गर्ने कार्यलाई आचारसंहिताविपरीत भनेको छ।

काउन्सिलले सरकारी कार्यालय तथा सार्वजनिक निकायमा क्यामेरा लिएर प्रवेश गरी भिडियो खिच्न सुरु गर्ने, कार्यालय प्रमुख वा लेखा प्रमुखसँग बुम तेस्र्याएर प्रश्न गर्ने र अन्त्यमा सन्देशमूलक सूचना लेखिएको भन्दै बिल पठाउने तथा कार्यालयसँग सम्झौता नगरी आफैँ सम्झौताको कागज तयार गरी दस्तखत गरेर बुझाउनेजस्ता गतिविधि देखिएको पनि जनाएको छ।

नेपालका सीमावर्ती केही जिल्लामा अनुमतिबिना विदेशी मिडिया वा पत्रकारले पत्रकारिता तथा सञ्चारकर्म गरिरहेको र त्यस्ता माध्यमबाट नेपाल सरकार तथा कानुनको व्यापक विरोध हुने सामग्री सम्प्रेषण भइरहेको विषयमा पनि काउन्सिलले ध्यानाकर्षण भएको जनाएको छ।

विज्ञप्तिमा सत्य, तथ्य र सन्तुलनको परीक्षणबिना पत्रकारले पत्रकारकै विरुद्ध सञ्चारमाध्यम वा सामाजिक सञ्जालबाट अभिव्यक्ति दिने प्रवृत्ति पनि चिन्ताजनक रहेको उल्लेख छ। काउन्सिलले पत्रकार र सञ्चारमाध्यमले आचारसंहिताबमोजिम पेशागत आचरण, मर्यादा र जिम्मेवारी पालना गर्नुपर्नेमा जोड दिएको छ।

काउन्सिलका अनुसार सञ्चार क्षेत्रलाई स्वतन्त्र, विश्वसनीय र मर्यादित बनाउन पत्रकार आचारसंहिताको पालना अनिवार्य छ। सञ्चारमाध्यम र पत्रकारले सत्य, तथ्य, निष्पक्ष र सन्तुलित सामग्री सम्प्रेषण गर्नुपर्ने तथा कुनै सामग्री प्रकाशन वा प्रसारण गर्नुअघि त्यसको तथ्य र विश्वसनीयता परीक्षण गर्नुपर्ने काउन्सिलले स्मरण गराएको छ।

सञ्चारमाध्यमबाट प्रकाशित वा प्रसारित सामग्री गलत, तथ्यहीन वा चित्त नबुझेमा प्रभावित व्यक्ति वा संस्थाले काउन्सिलमा उजुरी दिन सक्ने व्यवस्था रहेको पनि विज्ञप्तिमा उल्लेख छ। तर, समाचार वा सामग्रीकै आधारमा सञ्चारमाध्यम र पत्रकारलाई गालीगलौज गर्ने, मानमर्दन गर्ने, धम्की दिने वा धरपकडको प्रयास गर्ने कार्य प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताविरुद्ध हुने काउन्सिलले स्पष्ट पारेको छ।

काउन्सिलले पेशागत आचरणविपरीतका गतिविधि नगर्न तथा नगराउन सञ्चारमाध्यम, आमपत्रकार, सञ्चारकर्मी, सामाजिक सञ्जाल प्रयोगकर्ता र सम्बन्धित सबै पक्षलाई आग्रह गरेको छ। साथै, समाचार सामग्री सम्प्रेषण गरेकै आधारमा पत्रकार वा सञ्चारमाध्यमलाई धाकधम्की, धरपकड, गालीगलौजपूर्ण व्यवहार नगर्न र प्रेस स्वतन्त्रताको निर्बाध उपयोग हुने वातावरण निर्माण गर्न सबैसँग अपिल गरेको छ।

प्रेस काउन्सिल नेपालका सहप्रशासकीय अधिकृत तथा सहप्रवक्ता रामशरण बोहराद्वारा जारी विज्ञप्तिमा आचारसंहिता पालना, तथ्य परीक्षण, मर्यादित सञ्चार अभ्यास र प्रेस स्वतन्त्रताको संरक्षणमा सबै पक्ष जिम्मेवार हुनुपर्नेमा जोड दिइएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button