जेन–जी आन्दोलन : आयोजकले फर्किन आग्रह गर्दा पनि सुधन गुरुङ अटेरी गरी प्रदर्शनस्थलमै सक्रिय रहेको तथ्य सार्वजनिक

काठमाडौँ। जेन–जी आन्दोलनका क्रममा आयोजक समूहले फर्किन आग्रह गर्दा पनि ‘हामी नेपाल’ का अध्यक्ष एवं पूर्वगृहमन्त्री सुधन गुरुङले अटेरी गर्दै प्रदर्शनस्थलमा सक्रिय रहेको तथ्य सार्वजनिक भएको छ। राष्ट्रिय मानव अधिकार आयोगको छानबिन प्रतिवेदनअनुसार भदौ २३ गते बिहान करिब ९ बजे जेन–जी अभियानका अगुवा रक्षा बम, जस्टिन ओझालगायतको समूह माइतीघर मण्डलामा पुगेपछि सुधन गुरुङले टेन्ट, स्वास्थ्य स्वयंसेवक र तीन वटा एम्बुलेन्ससहितको तयारी गरेको देखिएको थियो।
प्रतिवेदनमा उल्लेख भएअनुसार त्यसक्रममा रक्षा बम र जस्टिन ओझालगायतले सुधन गुरुङसँग विवाद गर्दै उनलाई प्रदर्शनबाट फर्किन आग्रह गरेका थिए। तर, गुरुङले उक्त आग्रहलाई अस्वीकार गर्दै प्रदर्शनस्थलमै निरन्तर सक्रियता देखाएका थिए।
प्रतिवेदनमा सुरुमै शान्तिपूर्ण भनिएको प्रदर्शनका लागि एम्बुलेन्स, प्राथमिक उपचार र स्वास्थ्य स्वयंसेवकको व्यवस्था गर्नुलाई आन्दोलन हिंसात्मक हुन सक्ने पूर्वसङ्केतका रूपमा व्याख्या गरिएको छ। प्रदर्शनकारीले प्रहरीको ब्यारिकेड तोड्दै नयाँ बानेश्वरतर्फ अघि बढेपछि आन्दोलन उत्तेजक र हिंसात्मक बनेको तथा गलत तत्त्वको घुसपैठ भएको सुरक्षा अधिकारीहरूको बयानमा उल्लेख गरिएको छ। यस्तो अवस्था सिर्जना हुँदासमेत आयोजकले घुसपैठ रोक्न प्रभावकारी प्रयास नगरेको र सुरक्षा निकायले पनि पर्याप्त विश्लेषण तथा तयारी गर्न नसकेको प्रतिवेदनको निष्कर्ष छ।





