आर्थिक सर्वेक्षण : फागुनसम्म ४३ हजार स्मार्ट कार्ड वितरण, दर्ता भएका सवारी साधन ६२ लाख नाघे, आधाभन्दा बढी मोटरसाइकल

काठमाडौँ। सार्वजनिक भएको आर्थिक सर्वेक्षण २०८२/८३ अनुसार चालु आर्थिक वर्षको फागुनसम्म ४३ हजार ७५० थान सवारी चालक अनुमतिपत्र (स्मार्ट कार्ड) वितरण भएको छ। हालसम्म कूल ४१ लाख १४ हजार १८१ थान सवारी चालक अनुमतिपत्र वितरण भइसकेको सर्वेक्षणमा उल्लेख छ।
सर्वेक्षणअनुसार चालु आर्थिक वर्षको फागुनसम्म ८७ हजार १४ थान इम्बोस्ड नम्बर प्लेट उत्पादन भएको छ भने पाँच हजार १८६ थान जडान भएको छ। २०८२ फागुनसम्म कूल आठ लाख ३१ हजार ५९ थान इम्बोस्ड नम्बर प्लेट उत्पादन भएकोमा ८८ हजार ३४० थान मात्र जडान भएको छ। इम्बोस्ड नम्बर प्लेट जडान प्रक्रियालाई सरल, व्यवस्थित र प्रभावकारी बनाउन ‘इम्बोस्ड सवारी नम्बर प्लेट जडानसम्बन्धी निर्देशिका, २०८१’ स्वीकृत भई कार्यान्वयनमा रहेको छ।
सर्वेक्षणअनुसार आर्थिक वर्ष २०८२/८३ को फागुनसम्म बस, मिनिबस, ट्रक, माइक्रोबस, कार, मोटरसाइकललगायत विभिन्न दुई लाख ८१ हजार ९२१ यातायातका साधन दर्ता भएका छन्। २०८२ फागुनसम्म कूल दर्ता भएका सवारी साधनको सङ्ख्या ६२ लाख ४९ हजार ७३२ पुगेको छ। दर्ता भएका सवारी साधनमध्ये ५० लाखभन्दा बढी मोटरसाइकल रहेको सर्वेक्षणमा उल्लेख छ।





