जेन–जी आन्दोलन प्रतिवेदन : प्रधानमन्त्री बालेनको भूमिकामाथि मानव अधिकार आयोग मौन

काठमाडौँ। राष्ट्रिय मानव अधिकार आयोगले भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनका विषयमा बुधबार सार्वजनिक गरेको अनुसन्धान प्रतिवेदनमा प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ को भूमिकामाथि कुनै प्रश्न उठाएको छैन।
आयोगले राज्यको नेतृत्व गर्नेदेखि आन्दोलनमा विभिन्न भूमिका रहेका सयौं व्यक्ति दोषी हुन सक्ने भन्दै थप अनुसन्धान गर्नुपर्ने औंल्याएको छ। तर, सोही समयमा काठमाडौं महानगरपालिकाको प्रमुखको भूमिकामा रहेका बालेनले लेखेका स्टाटसको विषयमा भने आयोग मौन देखिएको छ।
आयोगले सामाजिक सञ्जालमा स्टाटस लेख्नेदेखि आन्दोलनको क्रममा विभिन्न भूमिकामा देखिएका व्यक्तिमाथि थप अनुसन्धान र कारबाही गर्न आवश्यक रहेको औंल्याएको छ। हालका प्रधानमन्त्री बालेनले जेन–जी आन्दोलनलाई समर्थन गर्नेदेखि स्थगन गर्नेसम्मको विषयमा सामाजिक सञ्जालमा स्टाटस लेखेरै वातावरण तयार गरेका थिए। तर, आयोगले पूर्वप्रधानमन्त्री, पूर्वगृहमन्त्री, रास्वपाका सांसद, सुरक्षा निकायका उच्च अधिकारी र कलाकारहरूमाथि अनुसन्धानको सिफारिस गरे पनि बालेनको भूमिकाबारे भने केही उल्लेख गरेको छैन। आयोगको यो मौनताले प्रश्न उठाएको छ।





