१३ असार २०८३, शनिबार

सगरमाथा दिवसको पूर्वसन्ध्यामा काठमाडौंमा ‘एभरेष्ट समिटर्स समिट’, पर्वतारोहणलाई सुरक्षित र दिगो बनाउन राष्ट्रपतिको आह्वान

काठमाडौँ। अन्तर्राष्ट्रिय सगरमाथा दिवसको पूर्वसन्ध्यामा आज काठमाडौंमा विश्वभरका पर्वतारोहीहरूको भेला आयोजना गरिएको छ। ‘एभरेष्ट समिटर्स समिट’ नाम दिइएको सो कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सगरमाथा नेपालको भौगोलिक पहिचान मात्र नभई राष्ट्रको प्रतिष्ठा, गौरव र विश्वकै अमूल्य प्राकृतिक सम्पदा भएको बताए।

राष्ट्रपति पौडेलले सगरमाथाको संरक्षण र सन्तुलित उपयोगबाट मात्र पर्यटन क्षेत्रमार्फत मुलुकको अर्थतन्त्रमा दिगो टेवा पुग्ने उल्लेख गर्दै भने, ‘जलवायु परिवर्तनका असर र पर्वतारोहण क्षेत्रमा बढ्दो फोहोरजस्ता समस्या अहिले ठूलो चुनौती बनेका छन्। यी समस्याको समाधान गरी सगरमाथा क्षेत्रको जैविक विविधता संरक्षण गर्दै पर्वतारोहणलाई सुरक्षित, दिगो र प्रविधिमैत्री बनाउन थप प्रयास र सहकार्य आवश्यक छ।’

दिगो हिमाली पर्यटन र जिम्मेवार पर्वतारोहण आजको प्रमुख आवश्यकता भएको औंल्याउँदै उनले सम्मेलनले पर्वतारोहणका क्रममा प्राप्त ज्ञानलाई सगरमाथाको जीवन्तताका लागि उपयोग गर्ने विश्वास व्यक्त गरे।

राष्ट्रपति पौडेलले सन् १९५३ मा साहसी पर्वतारोही तेन्जिङ नोर्गे शेर्पा र एडमन्ड हिलारीले पहिलो पटक सफल आरोहण गरेसँगै सुरु भएको पर्वतीय पर्यटनको ऐतिहासिक महत्त्वबारे पनि चर्चा गरे। पर्वतारोहणको माध्यमबाट नेपालको नाम विश्वभर फैलाउन योगदान पुर्याउने कीर्तिमानी आरोही तथा शेर्पा समुदायप्रति उनले सम्मान प्रकट गरे। मे २९ का दिन अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाइन्छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button