भारतीय अनुदानमा आठ जिल्लाका १४ विद्यालय निर्माण हुने, ५६ करोडको सम्झौतामा हस्ताक्षर

काठमाडौँ। शिक्षा तथा खेलकुद मन्त्रालयअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाई (शिक्षा) ले नेपालका आठ जिल्लाका १४ विद्यालयको निर्माणका लागि बुधबार सम्झौता पत्रमा हस्ताक्षर गरेको छ। यी विद्यालय भारत सरकारको भूकम्पपछिको पुनर्निर्माण सहायताअन्तर्गत ५६ करोड २ लाख रुपैयाँ अनुदानमा निर्माण हुनेछन्।

सम्झौता कार्यक्रममा भारतीय दूतावासका काउन्सिलर (डीपी एन्ड आर), केन्द्रीय आयोजना कार्यान्वयन इकाईका आयोजना निर्देशक, इकाईका अधिकारी र निर्माण व्यवसायीका प्रतिनिधिको उपस्थिति रहेको थियो।

यी विद्यालय गोरखा, नुवाकोट, धादिङ, दोलखा, काठमाडौँ, काभ्रेपलाञ्चोक, रामेछाप र सिन्धुपाल्चोक जिल्लामा निर्माण हुनेछन्। नेपाल सरकारको भूकम्प प्रतिरोधी पुनर्निर्माणसम्बन्धी मापदण्डबमोजिम निर्माण हुने यी विद्यालयमा शैक्षिक भवन, फर्निचरसहितका कक्षाकोठा तथा छात्र र छात्राका लागि छुट्टाछुट्टै सरसफाइ संरचना रहनेछन्।

भारत सरकारको भूकम्पपछिको पुनर्निर्माण अनुदानअन्तर्गत यसअघि नै आठ जिल्लाका ७० विद्यालय र त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालयको निर्माण सम्पन्न भई सन् २०२४ जनवरीमा नेपाल सरकारलाई हस्तान्तरण गरिसकिएको छ। भारत सरकारले नेपालको सामाजिक–आर्थिक विकासका लागि भूकम्पपछिको पुनर्निर्माण परियोजनालगायतका क्षेत्रमा नेपाल सरकार र यसका निकायसँग सहकार्य जारी राख्न प्रतिबद्ध रहेको भारतीय राजदूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।





