इद–उल–अज्हाले राष्ट्रिय एकता र सद्भाव बलियो बनाउँछ : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको एकताले राष्ट्रिय भावनालाई अझ प्रगाढ बनाउने विश्वास व्यक्त गरेका छन्। मुस्लिम समुदायको महान् पर्व इद–उल–अज्हा अर्थात् बकर इदका अवसरमा शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति पौडेलले यस पर्वले आपसी भाइचारा, समानता, सहिष्णुता र सद्भावको सन्देश प्रवाह गर्ने बताएका छन्।
राष्ट्रपति पौडेलले इद–उल–अज्हाका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण मुस्लिम समुदायसहित सबै नेपालीमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेका छन्। उनले यस पर्वले मातृभूमिसँगको आत्मीय सम्बन्ध अझ प्रगाढ बनाउँदै राष्ट्रिय समृद्धि र विकासमा योगदान पुर्याउने विश्वास व्यक्त गरे।
मुस्लिम समुदायले इद–उल–अज्हाका अवसरमा आपसी रिस, राग र द्वेष बिर्सेर खुसी, सद्भाव र शुभकामना आदानप्रदान गर्ने परम्परा रहिआएको छ। यस दिन खुला स्थान, इदगाह तथा मस्जिदमा गई विशेष नमाज पढ्ने, एकापसमा शुभकामना साटासाट गर्ने र हर्षोल्लासका साथ पर्व मनाउने गरिन्छ।
राष्ट्रपति पौडेलले विश्वास, समर्पण र समाजसेवाको सन्देश बोकेको यस पर्वले विभिन्न स्थानमा छरिएर रहेका नेपालीबीच धार्मिक तथा सांस्कृतिक विविधताभित्र आपसी सद्भाव कायम गर्न मद्दत गर्ने उल्लेख गरेका छन्।
उनले सहिष्णुता, मेलमिलाप, एकता, भ्रातृत्व र सहअस्तित्वका आधारमा आ–आफ्नो मौलिक संस्कृति तथा परम्पराको संरक्षण, संवर्द्धन र विकासमा यस्ता पर्वले महत्वपूर्ण टेवा पुर्याउने अपेक्षा पनि व्यक्त गरे।
राष्ट्रपति पौडेलले इद–उल–अज्हाले सबै नेपालीबीच प्रेम, करुणा, त्याग, सहिष्णुता र राष्ट्रिय एकताको भावना अझ बलियो बनाउँदै समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न प्रेरणा प्रदान गरोस् भन्ने शुभकामना व्यक्त गरेका छन्।





