आठ विश्वविद्यालयका उपकुलपतिका लागि १९९ उम्मेदवार प्रतिस्पर्धामा

काठमाडौं । विभिन्न विश्वविद्यालयमा रिक्त उपकुलपति नियुक्तिका लागि दरखास्त दिएका उम्मेदवारमध्ये १९९ जनाको आवेदन स्वीकृत भएको छ।
शिक्षा तथा खेलकुद मन्त्रालयमा रहेको नाम सिफारिस समितिले कागजात छानबिनपछि स्वीकृत उम्मेदवारको सूची बुधबार सार्वजनिक गरेको हो। उपकुलपति नियुक्तिका लागि आठ विश्वविद्यालयमा कुल २१८ जनाले आवेदन दिएका थिए। तीमध्ये १९९ उम्मेदवार प्रतिस्पर्धाका लागि योग्य ठहरिएका छन्।
सार्वजनिक विवरणअनुसार त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि ४३ जनाको आवेदन स्वीकृत भएको छ। पूर्वाञ्चल विश्वविद्यालयका लागि ३४, पोखरा विश्वविद्यालयका लागि ३३, लुम्बिनी बौद्ध विश्वविद्यालयका लागि १३, कृषि तथा वन विश्वविद्यालयका लागि १३, मध्यपश्चिम विश्वविद्यालयका लागि १७, सुदूरपश्चिम विश्वविद्यालयका लागि १८ र राजर्षि जनक विश्वविद्यालयका लागि २१ जनाको दरखास्त स्वीकृत भएको समितिले जनाएको छ।
स्वीकृत उम्मेदवारहरूले अब प्रस्तुतीकरण र अन्तर्वार्तामा भाग लिनेछन्। त्यसपछि समितिले मूल्याङ्कनका आधारमा प्रत्येक विश्वविद्यालयका लागि तीन–तीन जनाको नाम कुलपति एवं प्रधानमन्त्रीसमक्ष सिफारिस गर्ने व्यवस्था छ।
समितिले गत वैशाख २५ गते ‘विभिन्न विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिससम्बन्धी एकीकृत कार्यविधि, २०८३’ बमोजिम इच्छुक तथा योग्य उम्मेदवारलाई दरखास्त दिन आह्वान गरेको थियो।
यसअघि नेपाल सरकारको सिफारिसमा राष्ट्रपतिबाट जारी पदमुक्तिसम्बन्धी विशेष अध्यादेशपछि विभिन्न विश्वविद्यालयका पदाधिकारीहरू पदमुक्त भएका थिए। रिक्त पदहरूमा हाल निमित्त पदाधिकारीलाई जिम्मेवारी दिइएको छ।
नेपाल खुला विश्वविद्यालयको रिक्त उपकुलपति पदका लागि भने नियुक्ति प्रक्रिया यसअघि नै सुरु भइसकेको जनाइएको छ।





