देशभर बकर इद मनाइँदै, मस्जिद र इदगाहमा सामूहिक नमाज

काठमाडौं । मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद अर्थात् इद–उल–अज्हा आज देशभर श्रद्धा र उल्लासका साथ मनाइँदैछ।
इद–उल–फित्र अर्थात् रमजान पर्वको ७०औँ दिनमा मनाइने बकर इदका अवसरमा मुस्लिम समुदायका धर्मावलम्बीहरूले बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा पुगेर सामूहिक नमाज पढ्ने परम्परा छ। नमाजपछि एकापसमा शुभकामना आदानप्रदान गर्ने गरिन्छ।
यस अवसरमा काठमाडौंको दरबारमार्गस्थित नेपाली जामे मस्जिद, काश्मिरी मस्जिदलगायत देशभरका मस्जिद तथा इदगाहमा मुस्लिम धर्मावलम्बीको उल्लेख्य उपस्थिति रहने गरेको छ।
मुस्लिम आयोगका पूर्वअध्यक्ष निर्दोष अलीका अनुसार हिजरी संवत्अनुसार करिब १४ सय वर्षअघि अल्लाहको आदेशमा पैगम्बर इब्राहिम आफ्ना छोरा इस्माइललाई बलिदान गर्न तयार भएको धार्मिक प्रसङ्गको सम्झनामा यो पर्व मनाउन थालिएको हो।
मुस्लिम धर्मगुरु मौलाना रहमत अलीका अनुसार इब्राहिमको वंशमा सन् ५७१ मा मक्कामा पैगम्बर मोहम्मदको जन्म भएको र उहाँले इस्लाम धर्म तथा यस पर्वको परम्परालाई निरन्तरता दिन महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको मानिन्छ। उहाँसँग सम्बन्धित धार्मिक शिक्षा हदिसमा उल्लेख गरिएको छ, जुन मुस्लिम धार्मिक विद्यालय मदरसामा समेत अध्ययन–अध्यापन गराइन्छ।
मौलाना अलीका अनुसार मक्कामा जन्मिनुभएका पैगम्बर मोहम्मद ५३ वर्षको उमेरपछि मदिना सर्नुभएको इतिहास छ। यही धार्मिक महत्वका कारण साउदी अरबस्थित मक्का र मदिना मुस्लिम समुदायका प्रमुख तीर्थस्थलका रूपमा मानिन्छन्।
बकर इदको मुख्य धार्मिक उद्देश्य हज यात्रा र त्यागको भावना हो। यस पर्वमा अल्लाहलाई प्रसन्न पार्न धार्मिक विधिअनुसार जायज मानिएका जनावरको कुर्बानी दिने परम्परा छ। धार्मिक मान्यताअनुसार पैगम्बर इब्राहिमले अल्लाहको आदेश पालना गर्दै आफ्ना छोरा इस्माइललाई कुर्बानी दिन तयार हुँदा अल्लाह प्रसन्न भई इस्माइलको सट्टा स्वर्गबाट पठाइएको दुम्बाको कुर्बानी भएको विश्वास गरिन्छ। यही स्मरणमा मुस्लिम समुदायले कुर्बानीको परम्परा कायम राख्दै आएको छ।
मक्का–मदिना जानु शुभ मानिने भएकाले हज यात्राका लागि सरकारले आवश्यक प्रक्रिया र व्यवस्थापनमा सहजीकरण गर्ने गरेको छ। हज यात्रामा जान नपाउने धर्मावलम्बीले पनि घरघरमै पारिवारिक तथा सामुदायिक रूपमा बकर इद मनाउने गर्छन्।
नेपाली जामे मस्जिदका अनुसार मुस्लिम धर्मावलम्बीहरूले यो पर्व तीन दिनसम्म मनाउने छन्। पर्व अवधिभर धार्मिक विधिअनुसार कुर्बानी गर्ने परम्परा रहेको जनाइएको छ।
बकर इदका अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ।





