१३ असार २०८३, शनिबार

बकर इदले प्रेम, सद्भाव र मानवता अभिवृद्धि गरोस् : ओली

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुस्लिम समुदायको महान् पर्व बकर इदका अवसरमा शुभकामना व्यक्त गरेका छन्। उनले यस पर्वले प्रेम, सद्भाव, एकता र मानवताको भावना अझ अभिवृद्धि गर्न प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरेका छन्।

सामाजिक सञ्जालमार्फत सार्वजनिक शुभकामना सन्देश दिँदै ओलीले बकर इदका अवसरमा मुस्लिम समुदायका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा हार्दिक शुभकामना व्यक्त गरेका हुन्।

ओलीले नेपाललाई विविध आस्था, संस्कार र सभ्यता संरक्षित पावन भूमिका रूपमा उल्लेख गरेका छन्। उनले यहाँका विभिन्न धार्मिक परम्परा, संस्कार र सांस्कृतिक स्वरहरू सहअस्तित्वको प्रतीकका रूपमा गुञ्जिँदै आएको बताएका छन्।

उनले भनेका छन्, “हाम्रो देश विविध आस्था, संस्कार र सभ्यता संरक्षित भएको पावन भूमि हो। यहाँ मन्दिरको शंखनाद, मस्जिदको अजान, गुम्बाको मन्त्र र सनातन संस्कृतिका सबै स्वरहरू एउटै आकाशमुनि सहअस्तित्वको संगीत बनेर गुञ्जिन्छन्।”

ओलीले नेपालको वास्तविक शक्ति विविधताबीचको एकतामा रहेको उल्लेख गरेका छन्। धार्मिक, सांस्कृतिक र सामाजिक विविधता नेपालको पहिचान भएको भन्दै उनले सहिष्णुता र सद्भावले नेपाललाई आत्मिक सहअस्तित्वको भूमि बनाएको बताएका छन्।

बकर इद इस्लाम धर्मावलम्बीको महत्वपूर्ण पर्व हो। यस पर्वलाई त्याग, समर्पण, आस्था र आपसी सद्भावको प्रतीकका रूपमा लिइन्छ। मुस्लिम समुदायले नमाज, शुभकामना आदानप्रदान, पारिवारिक भेटघाट र धार्मिक विधिसहित यो पर्व मनाउने गर्छन्।

ओलीले बकर इदका अवसरमा मुस्लिम समुदायप्रति सम्मान व्यक्त गर्दै पुनः शुभकामना दिएका छन्। उनले “ईद मुबारक” भन्दै पर्वले सम्पूर्ण नेपाली समाजमा प्रेम, एकता र मानवताको भावना बलियो बनाओस् भन्ने कामना गरेका छन्।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button