चीनद्वारा शान्षी प्रान्तको कोइला खानी विस्फोटको छानबिन गर्न उच्चस्तरीय टोली गठन

बेइजिङ। चीनको राज्य परिषद्ले उत्तरी चीनको शान्षी प्रान्तमा भएको घातक कोइला खानी विस्फोटको छानबिनका लागि अनुसन्धान टोली गठन गरेको अधिकारीहरूले बुधबार जनाएका छन्।
शान्षीको लिउसेन्यु कोइला खानीमा मे २२ का दिन साँझ ७ बजेर २९ मिनेटमा ग्यास विस्फोट हुँदा ठूलो जनधनको क्षति भएको थियो। आपतकालीन व्यवस्थापन मन्त्रालयको नेतृत्वमा गठित अनुसन्धान टोलीमा जनसुरक्षा मन्त्रालय, प्राकृतिक स्रोत मन्त्रालय, अखिल चीन ट्रेड युनियन महासङ्घ, राष्ट्रिय ऊर्जा प्रशासन, राष्ट्रिय खानी सुरक्षा प्रशासन र शान्षी प्रान्तीय जनसरकारका प्रतिनिधि सहभागी छन्।
बैठकले अनुसन्धान टोलीले दुर्घटनाको कारण, स्थानीय अधिकारी, उद्योग नियामक र उद्यमको जिम्मेवारी पहिचान गर्न कडाइका साथ विस्तृत छानबिन गर्नुपर्नेमा जोड दिएको छ। सम्बन्धित कानुन र नियमअनुसार कडा सजायको माग गरिएको छ।
यसैगरी, बैठकले गम्भीर पाठ सिक्दै सुरक्षा जोखिम र लुकेका खतराहरूको निरीक्षण तथा सुधारका लागि व्यापक उपाय कार्यान्वयन गर्न र ठूला तथा गम्भीर दुर्घटना रोक्न दृढतापूर्वक प्रयास गर्न आवश्यक रहेकोमा जोड दिएको छ।





