हङकङ अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल २ विस्तारित सुविधासहित सञ्चालनमा, वार्षिक १० करोड यात्रु क्षमता

हङकङ। हङकङ अन्तर्राष्ट्रिय विमानस्थल (एचकेआईए) को टर्मिनल २ को नयाँ यात्रु प्रस्थान सुविधा बुधबार औपचारिक रूपमा सञ्चालनमा आएको छ, जसले विश्वव्यापी उड्डयन केन्द्रका रूपमा हङकङको हैसियतलाई थप सुदृढ गरेको छ।
हङकङ विमानस्थल प्राधिकरणका अनुसार नयाँ टर्मिनलको विस्तार र स्तरोन्नतीमा करिब १२.९ अर्ब हङकङ डलर (करिब १.६५ अर्ब अमेरिकी डलर) लागत लागेको छ र यसलाई पूरा गर्न धेरै वर्ष लागेको थियो। विमानस्थल प्राधिकरणले हङकङको बढ्दो यात्रु सङ्ख्या व्यवस्थापन गर्न क्षमता वृद्धि गर्नु नै यस कदमको मुख्य उद्देश्य रहेको बताएको छ। साथै, जुनको मध्यसम्ममा १५ वटा विमान कम्पनी नयाँ टर्मिनलमा स्थानान्तरण हुनेछन्।
हङकङ अन्तर्राष्ट्रिय विमानस्थलले सन् २०२५ मा ६ करोड १० लाख यात्रु ओसारपसार गरेको थियो, जुन अघिल्लो वर्षको तुलनामा १५ प्रतिशतले बढी हो। नयाँ टर्मिनलले वार्षिक थप ३ करोड यात्रु व्यवस्थापन गर्न सक्ने अपेक्षा गरिएकामा दुई टर्मिनलको संयुक्त वार्षिक क्षमता १० करोड यात्रु पुग्ने प्रक्षेपण गरिएको छ।





