२७ जेष्ठ २०८३, बुधबार

सात जना वैज्ञानिकलाई यस वर्षको ‘स प्राइज’ पुरस्कार घोषणा, प्रत्येक पुरस्कार राशी १२ लाख अमेरिकी डलर

हङकङ। सात जना वैज्ञानिकले यस वर्षको प्रतिष्ठित ‘स प्राइज’ पुरस्कार जितेका छन्। स प्राइज फाउन्डेसनले बुधबार पुरस्कारका तीन विधामा उत्कृष्ट कार्यका लागि उनीहरूलाई पुरस्कृत गरिने घोषणा गरेको हो।

खगोल विज्ञानतर्फको पुरस्कार टोकियो विश्वविद्यालयका एमेरिटस प्राध्यापक केनिची नोमोटो र क्यालिफोर्निया विश्वविद्यालय, सान्ता क्रुजका प्राध्यापक स्ट्यानफोर्ड वुस्लीलाई तारकीय विस्फोट र तत्त्वहरूको उत्पत्तिसम्बन्धी अध्ययनका लागि प्रदान गरिने भएको छ।

जीवन विज्ञान तथा चिकित्सातर्फको पुरस्कार इन्स्टिच्युट पास्चरका प्राध्यापक एन डेजेन, कोलेज द फ्रान्सका प्राध्यापक ह्युग्स द थे र सांघाई चियाओ थोङ विश्वविद्यालयका प्राध्यापक चु छन्लाई प्रदान गरिनेछ। फाउन्डेसनका अनुसार यी तीन वैज्ञानिकलाई तीव्र प्रोमाइलोसाइटिक ल्युकेमियाको आणविक र कोषीय आधारको खोज तथा सहक्रियात्मक लक्षित उपचारको अग्रगामी कार्यका लागि पुरस्कृत गरिनेछ।

गणितीय विज्ञानतर्फको पुरस्कार स्ट्यानफोर्ड विश्वविद्यालयका प्राध्यापक इमानुएल कान्डेस र प्रिन्सटनस्थित इन्स्टिच्युट फर एड्भान्स्ड स्टडीका प्राध्यापक कामिलो डे लेलिसलाई गणितीय विश्लेषणका गहन प्रविधिहरूको प्रयोग गरी व्यावहारिक समस्यालाई कठोरतापूर्वक बुझ्न गरेको महत्त्वपूर्ण योगदानका लागि प्रदान गरिनेछ।

स प्राइजअन्तर्गत सन् २००४ देखि हरेक वर्ष खगोल विज्ञान, जीवन विज्ञान तथा चिकित्सा, र गणितीय विज्ञान गरी तीन विधामा पुरस्कार प्रदान गरिँदै आएको छ भने सन् २०२७ देखि नयाँ कम्प्युटर विज्ञान पुरस्कार पनि प्रदान गरिनेछ। प्रत्येक पुरस्कारको राशी १२ लाख अमेरिकी डलर रहेको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button