कङ्गोमा इबोला सङ्क्रमण एक हजार नाघ्यो, तीन प्रान्तका १३ स्वास्थ्य क्षेत्र प्रभावित

किन्सासा। प्रजातान्त्रिक गणतन्त्र कङ्गो (डीआरसी) मा इबोलाका सन्दिग्ध सङ्क्रमितको सङ्ख्या एक हजार नाघेको छ। देशको स्वास्थ्य मन्त्रालयले बुधबार जारी गरेको अवस्था प्रतिवेदनअनुसार पूर्वी प्रान्तहरूमा सङ्क्रमण फैलिँदै गएको छ।
मङ्गलबारसम्मको तथ्याङ्कमा आधारित प्रतिवेदनले सन्दिग्ध सङ्क्रमितको सङ्ख्या एक हजार ७७ पुगेको जनाएको छ। मे १५ का दिन सङ्क्रमण घोषणा भएयता देशमा १२१ जनामा इबोला पुष्टि भएको छ भने २३८ जनाको सन्दिग्ध मृत्यु भएको छ।
सङ्क्रमणले इटुरी, उत्तरी किभु र दक्षिणी किभु प्रान्तका १३ स्वास्थ्य क्षेत्रलाई प्रभावित बनाएको छ, जसमा इटुरी केन्द्रबिन्दुका रूपमा रहेको प्रतिवेदनले जनाएको छ। यो कङ्गोको १७औँ इबोला महामारी हो। प्रयोगशाला परीक्षणले भाइरसको बुन्डिबुग्यो प्रजाति पहिचान गरेको छ, जुन इबोलाको तुलनात्मक रूपमा दुर्लभ प्रकार हो।
यसैबीच, विश्व स्वास्थ्य सङ्गठनले मे १७ का दिन यस घटनालाई अन्तर्राष्ट्रिय चासोको सार्वजनिक स्वास्थ्य सङ्कटकाल घोषणा गरेको थियो भने अफ्रिका रोग नियन्त्रण तथा रोकथाम केन्द्रले पछि महाद्वीपीय सार्वजनिक स्वास्थ्य सुरक्षा सङ्कटकाल घोषणा गरेको थियो।





