हमासको सशस्त्र शाखा अल–कासम ब्रिगेडका नवनियुक्त कमान्डर–इन–चिफ इजरायली हवाई आक्रमणमा मारिए

गाजा। हमासको सशस्त्र शाखा अल–कासम ब्रिगेडका नवनियुक्त कमान्डर–इन–चिफ मोहम्मद ओदेह मङ्गलबार साँझ इजरायली हवाई आक्रमणमा मारिएको हमासले बुधबार आधिकारिक रूपमा पुष्टि गरेको छ।
एक प्रेस विज्ञप्तिमा हमासले ओदेहप्रति शोक व्यक्त गर्दै उनी ३० वर्षभन्दा बढी समयदेखि सङ्गठनको सैन्य गतिविधिमा संलग्न रहेको र सशस्त्र कारबाहीका प्रारम्भिक संस्थापकमध्ये एक मानिने उल्लेख गरेको छ। इजरायल–हमास द्वन्द्वका विभिन्न चरणमा ओदेहले योजना, तयारी र सैन्य विकासमा मुख्य भूमिका खेलेको हमासको भनाइ छ।
हमासले इजरायलले ‘सबै मूल्य, मापदण्ड, कानुन र दैवी सिद्धान्तको स्पष्ट उल्लङ्घन गर्दै’ आक्रमण गरेको आरोप लगाएको छ। उक्त आक्रमणमा ओदेहकी पत्नी र दुई छोरासहित अन्यको पनि मृत्यु भएको हमासले जनाएको छ।
यसअघि, इजरायली रक्षामन्त्री इजरायल काट्जले एक विज्ञप्तिमा ओदेहलाई हमासको चौथो वरियताको अधिकारी भन्दै उनको हत्या भएको बताएका थिए। ‘हमासले गाजामा सैन्य वा नागरिक नियन्त्रण राख्ने छैन र त्यसै हुनेछ भन्ने हाम्रो वाचा थियो,’ काट्जले भने।
मे १५ का दिन इजरायली आक्रमणमा मारिएका इज्ज अल–दिन अल–हद्दादको उत्तराधिकारीका रूपमा ओदेहलाई करिब एक साताअघि नियुक्त गरिएको थियो। सन् २०२३ अक्टोबर ७ मा इजरायल–हमास द्वन्द्व सुरु भएयता इजरायलले गाजा र बाहिर हमासका धेरै वरिष्ठ सैन्य तथा राजनीतिक व्यक्तित्वको हत्या गरिसकेको इजरायली र प्यालेस्टिनी वक्तव्यहरूले देखाउँछन्।





