वरिष्ठ पत्रकार किशोर श्रेष्ठको भावनात्मक प्रतिक्रिया: ‘हारेको छैन, थाकेको छैन, मृत्युपर्यन्त कर्तव्यबाट च्युत हुने छैन’

काठमाडौं । हिजो एक अनलाइन माध्यमलाई अन्तर्वार्ता दिने क्रममा प्रहरीले पक्राउ गर्ने प्रयास गरेपछि अन्तर्वार्ता बीचमै छाडेर भाग्न सफल भएका जनआस्थाका प्रधानसम्पादक तथा वरिष्ठ पत्रकार किशोर श्रेष्ठले सार्वजनिक फेसबुक प्रतिक्रिया दिएका छन्। उनले कानुनी प्रक्रियामा सघाउन आफू सधैं तयार रहेको बताउँदै प्रेस स्वतन्त्रतामाथिको प्रहारप्रति गम्भीर आपत्ति जनाएका छन्।
श्रेष्ठले लेखेका छन्, ‘कानुनी विधि प्रक्रियामार्फत राज्यले खोजी गर्छ भने सघाउन हर्दम तयार छौं, सघाएकै छौं। हामीले नेपालको सार्वभौमिक अस्तित्वमाथि अनाधिकृत अतिक्रमण गर्ने अपराधीको आफैले पहिचान गरी बेलैमा सुरु गरेको कानुनी प्रक्रियाउपर राज्यले निस्पक्ष अनुसन्धान गरोस् र यथाशीघ्र टुंगोमा पुर्याओस्।’
उनले प्रेस स्वतन्त्रताको घाँटी निमोठ्न र सत्यलाई बदनाम गर्न केही छद्मभेषी पात्रहरू प्रयोग वा दुरुपयोग भएको आरोप लगाएका छन्। उनले भने, ‘यही बेला, एकै समय नेपालमा प्रेस स्वतन्त्रताको घाँटी निमोठ्न र सत्यलाई बदनाम गर्न जो जो छद्मभेषी पात्र प्रयोग वा दुरुपयोग भएका छन्, तिनको मुखुण्डो छिट्टै उदाङ्गो हुने नै छ।’
श्रेष्ठले राज्यले दोषीलाई बचाउने र अपराधीको भण्डाफोर गर्ने मिडियाकर्मीहरूमाथि विषयान्तर गर्दै धरपकडको तहमा उत्रने काम गरेमा सूचना स्रोतहरूको सुरक्षाका खातिर आफू केही समयका लागि साइड लाग्नुपर्ने बताएका छन्। उनले भने, ‘राज्यलाई हामीले सुरुदेखि सघाउँदा सघाउँदै आग्रह पालेर दोषीलाई बचाउने र अपराधीको भण्डाफोर गर्ने मिडियाकर्मीहरूमाथि विषयान्तर गर्दै धरपकडको तहमा उत्रने काम हुन्छ भने सैयौं सूचना स्रोतहरूको सुरक्षाका खातिर केही समय व्यक्तिगत रूपमा मैले साइड लाग्नैपर्ने हुन्छ।’
उनले आफ्नो लेखन यात्राबारे नागरिक समाज, चौथो अंग, न्यायालय, मानव अधिकार आयोग र न्याय पक्षधर विभिन्न पेशाकर्मी मित्रहरू जानकार रहेको उल्लेख गर्दै देश र दुनियाँले सबै परिस्थिति नजिकबाट नियालिरहेको बताए। उनले प्रतीकात्मक रूपमा भने, ‘पहाडमा जङ्गल भएसम्म बेलाबखत आगलागी भइरहन्छ। आइलाग्ने डढेलोदेखि विचलित भएर पहाड समुद्रमा बिलिन हुँदैन।’
अन्त्यमा उनले आफू कुनै न कुनै रूपबाट पाठक र शुभचिन्तकहरूसँग नियमित सम्पर्कमा रहने प्रतिबद्धता व्यक्त गर्दै लेखेका छन्, ‘म कुनै न कुनै रूपबाट तपाईंहरूसँग नियमित सम्पर्कमा छु। म हारेको छैन, थाकेको छैन र मृत्युपर्यन्त मेरा कर्तव्य र दायित्वबाट च्युत हुने पनि छैन। स्वार्थरहित सत्यको सङ्घर्षमा सदा साथ दिनुहुने सहृदयी सबै सबैमा सम्मान छ।’





