५ असार २०८३, शुक्रबार

इरानसँग सम्झौता भएको दाबी ह्वाइट हाउसद्वारा अस्वीकार

वासिङ्टन । ह्वाइट हाउसले अमेरिका र इरानबीच सम्झौताको रूपरेखा बनेको भन्ने इरानी सरकारी सञ्चारमाध्यमको दाबीलाई पूर्ण रूपमा अस्वीकार गरेको छ।

बुधबार ह्वाइट हाउसले सामाजिक सञ्जाल एक्सको आफ्नो र्‍यापिड रेस्पोन्स खातामार्फत इरानी सरकारी सञ्चारमाध्यमले सार्वजनिक गरेको विवरणलाई “पूर्ण रूपमा बनावटी” भनेको हो। ह्वाइट हाउसले इरानी सरकारी सञ्चारमाध्यमले सार्वजनिक गरेको सामग्रीमा विश्वास नगर्न आग्रह गरेको छ।

ह्वाइट हाउसकी प्रवक्ता ओलिभिया वेल्सले फक्स न्युजसँग कुरा गर्दै राष्ट्रपति डोनाल्ड ट्रम्पले भनेझैँ वार्ता सकारात्मक ढङ्गले अघि बढिरहेको तर अमेरिकी पक्षका स्पष्ट सीमा र शर्तहरू रहेको बताइन्। उनले राष्ट्रपति ट्रम्पले अमेरिकी जनताको हितमा मात्रै राम्रो सम्झौता गर्ने बताउँदै कुनै पनि सम्झौताले इरानलाई कहिल्यै परमाणु हतियार प्राप्त गर्न नसक्ने सुनिश्चित गर्नुपर्ने स्पष्ट पारिन्।

बुधबार ह्वाइट हाउसमा जारी मन्त्रिपरिषद् बैठकका क्रममा राष्ट्रपति ट्रम्पले पनि इरानसँगको सम्भावित सम्झौताप्रति अमेरिका अझै “सन्तुष्ट” नभएको बताएका छन्।

यसअघि बुधबार इरानको सरकारी टेलिभिजन आईआरआईबीले इरानसँग अमेरिका–इरानबीच प्रारम्भिक र अनौपचारिक समझदारीपत्रको मस्यौदा रहेको दाबी गरेको थियो। उक्त मस्यौदामा अमेरिकाले सैन्य फिर्ता र नौसैनिक नाकाबन्दी हटाउनुपर्ने माग समेटिएको इरानी सञ्चारमाध्यमले उल्लेख गरेको थियो।

आईआरआईबीको रिपोर्टअनुसार त्यसको बदलामा इरानले एक महिनाभित्र होर्मुज जलडमरूमार्गबाट हुने व्यावसायिक जहाज आवागमनलाई युद्धपूर्वको स्तरमा फर्काउने तथा ओमानसँग मिलेर जलडमरूमार्गमा जहाज आवागमन व्यवस्थापन गर्ने प्रतिबद्धता जनाएको दाबी गरिएको थियो।

रिपोर्टमा सैन्य जहाजहरू उक्त प्रस्तावित समझदारीमा नपर्ने उल्लेख गरिएको थियो। तर ह्वाइट हाउसले उक्त विवरणलाई अस्वीकार गर्दै सम्झौता भएको वा कुनै औपचारिक रूपरेखा तयार भएको दाबीलाई खण्डन गरेको छ।

अमेरिका र इरानबीच जारी वार्तालाई अन्तर्राष्ट्रिय समुदायले चासोपूर्वक हेरिरहेको छ। परमाणु कार्यक्रम, क्षेत्रीय सुरक्षा, होर्मुज जलडमरूमार्गको आवागमन र सैन्य उपस्थितिका विषय दुवै पक्षबीचका मुख्य संवेदनशील मुद्दा हुन्। ह्वाइट हाउसको पछिल्लो प्रतिक्रियाले वार्ता जारी रहे पनि ठोस सम्झौता हुन अझै बाँकी रहेको संकेत गरेको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button