डुटेर्टेविरुद्धको मुद्दाको सुनुवाइ २०२६ नोभेम्बर ३० देखि हुने

हेग । अन्तर्राष्ट्रिय फौजदारी अदालत आईसीसीले फिलिपिन्सका पूर्वराष्ट्रपति रोड्रिगो डुटेर्टेविरुद्धको मुद्दाको सुनुवाइ २०२६ नोभेम्बर ३० देखि सुरु हुने जनाएको छ।
आईसीसीले बुधबार जारी गरेको वक्तव्यमा मुद्दाको तयारीसँग सम्बन्धित विषयमा भएको स्थिति सम्मेलनपछि अदालतको च्याम्बरले सुनुवाइ सुरु हुने मिति तय गरेको उल्लेख गरेको छ।
आईसीसीको ट्रायल च्याम्बर तेस्रोले अभियोजन पक्ष, प्रतिरक्षा पक्ष तथा अन्य कानुनी प्रतिनिधिहरूको निवेदन, प्रमाण र सम्बन्धित सामग्री सार्वजनिक गर्न लाग्ने समयलगायत पक्षलाई विचार गरी सुनुवाइको मिति निर्धारण गरेको हो।
आईसीसीका अनुसार सुनुवाइ सुरु हुनुअघि च्याम्बरले बाँकी रहेका सबै विषय सम्बोधन गर्नेछ। साथै न्यायिक प्रक्रिया निष्पक्ष, छिटो र व्यवस्थित रूपमा अघि बढाउन आवश्यक प्रक्रिया अपनाइनेछ।
यसअघि अप्रिल २३ मा आईसीसीले डुटेर्टेविरुद्ध मानवताविरुद्धको अपराधसम्बन्धी तीनवटै अभियोग पुष्टि गर्दै उनलाई मुद्दा सुनुवाइका लागि पठाउने निर्णय गरेको थियो।
डुटेर्टे सन् २०१६ देखि २०२२ सम्म फिलिपिन्सका राष्ट्रपति थिए। उनी आफ्नो विवादास्पद लागुऔषधविरोधी अभियानसँग सम्बन्धित पक्राउ पुर्जीका आधारमा मार्च २०२५ मा पक्राउ परेका थिए। त्यसपछि उनलाई आईसीसीको हिरासतमा सारिएको थियो। डुटेर्टेले उक्त कारबाहीलाई चुनौती दिँदै आएका छन्।
आईसीसीसमक्ष उनको प्रारम्भिक उपस्थिती मार्च १४, २०२५ मा भएको थियो। नोभेम्बर २८, २०२५ मा आईसीसीले उनको उमेर र स्वास्थ्य अवस्था कमजोर भएको आधारमा रिहा गर्न माग गरिएको अपिल अस्वीकार गरेको थियो।
फिलिपिन्समा डुटेर्टेको शासनकालमा सञ्चालन गरिएको लागुऔषधविरोधी अभियान अन्तर्राष्ट्रिय रूपमा निकै विवादास्पद बनेको थियो। उक्त अभियानमा व्यापक मानवअधिकार उल्लङ्घन भएको आरोप लाग्दै आएको छ। अब आईसीसीमा हुने सुनुवाइले ती आरोपहरूको न्यायिक परीक्षण गर्नेछ।





