नयाँदिल्लीमा रुसी विश्वविद्यालय एमजीआईएमओको प्रस्तुति कार्यक्रम

नयाँदिल्ली । भारतको नयाँदिल्लीस्थित रुसी हाउसमा रुसी विदेश मन्त्रालयअन्तर्गतको प्रतिष्ठित एमजीआईएमओ विश्वविद्यालयबारे प्रस्तुति कार्यक्रम आयोजना गरिएको छ। भारतीय विद्यालय तथा विश्वविद्यालयका विद्यार्थीहरूका लागि आयोजित कार्यक्रम रुसी दूतावास र भारतस्थित रोस्सोत्रुदनिचेस्तभो प्रतिनिधि कार्यालयको सहयोगमा सम्पन्न भएको हो।
मे २६ मा आयोजित कार्यक्रममा भारतका विद्यार्थीहरूलाई एमजीआईएमओ विश्वविद्यालयको शैक्षिक कार्यक्रम, इतिहास, परम्परा, विद्यार्थी जीवन र अन्तर्राष्ट्रिय अवसरबारे जानकारी गराइएको थियो।




कार्यक्रममा भारतस्थित रुसी कूटनीतिक नियोगका मिनिस्टर काउन्सेलर तथा एमजीआईएमओका पूर्वविद्यार्थी रोमन बाबुश्किनले स्वागत मन्तव्य व्यक्त गरेका थिए। उनले एमजीआईएमओ विश्वविद्यालयको शैक्षिक स्तर अत्यन्त उच्च रहेको उल्लेख गर्दै त्यहाँ अध्ययन गर्नाले कूटनीति, विश्वव्यापी कम्पनी र अन्तर्राष्ट्रिय समुदायका ढोका खुल्ने बताए।
एमजीआईएमओका प्रतिनिधिहरूले विद्यार्थीहरूका लागि अन्तरक्रियात्मक सत्र, प्रस्तुति र प्रतियोगिता सञ्चालन गरेका थिए। कार्यक्रममा सहभागी विद्यार्थीहरूले विश्वविद्यालयको इतिहास, शैक्षिक कार्यक्रम, भर्ना प्रक्रिया, क्याम्पस जीवन र अध्ययनपछि उपलब्ध हुन सक्ने अन्तर्राष्ट्रिय करियर अवसरबारे प्रश्न गरेका थिए।
प्रतिनिधिहरूले विद्यार्थीहरूका जिज्ञासाको जवाफ दिँदै एमजीआईएमओले अन्तर्राष्ट्रिय सम्बन्ध, कूटनीति, विश्व अर्थतन्त्र, कानुन, व्यवस्थापन, भाषाविज्ञानलगायत क्षेत्रमा उच्चस्तरीय शिक्षा प्रदान गर्दै आएको जानकारी गराएका थिए।




कार्यक्रमले भारतका विद्यार्थीहरूमा रुसी उच्च शिक्षाप्रति चासो बढाउन सहयोग पुर्याएको आयोजकहरूको भनाइ छ। रूस र भारतबीच लामो समयदेखि रहँदै आएको शैक्षिक, सांस्कृतिक र जनस्तरीय सम्बन्धलाई अझ सुदृढ बनाउन यस्ता कार्यक्रम उपयोगी हुने अपेक्षा गरिएको छ।
एमजीआईएमओ विश्वविद्यालय रूसको प्रमुख उच्च शिक्षण संस्थामध्ये एक मानिन्छ। विशेषगरी कूटनीति, अन्तर्राष्ट्रिय सम्बन्ध र विश्व मामिलामा यस विश्वविद्यालयको विशिष्ट पहिचान रहेको छ। कार्यक्रमलाई रूस–भारत शैक्षिक सहकार्य विस्तारको महत्वपूर्ण प्रयासका रूपमा हेरिएको छ।





