१३ असार २०८३, शनिबार

नेपाल–चीन सम्बन्धलाई नयाँ उचाइमा पुर्याउन चीन प्रतिबद्ध : राजदूत चाङ माओमिङ

काठमाडौँ। नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङ र उपराष्ट्रपति रामसहायप्रसाद यादवबीच बुधबार लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेटवार्ता भएको छ। भेटका क्रममा दुई पक्षबीच शान्तिपूर्ण सहअस्तित्व, आपसी सम्मान र दीर्घकालीन मित्रतामा आधारित नेपाल–चीन सम्बन्ध, आर्थिक सहयोग तथा भावी सहकार्यका विषयमा विचारविमर्श भएको उपराष्ट्रपतिको कार्यालयले जनाएको छ।

उपराष्ट्रपति यादवले बितेका चार दशकमा चीनले हासिल गरेको प्रगतिको सराहना गर्दै दुई देशबीच व्यापार, पर्यटन, पूर्वाधार, ऊर्जा र प्रविधि हस्तान्तरणमा चिनियाँ साझेदारी आवश्यक भएकोमा जोड दिए। ‘चीनले गरेको विकास विश्वका लागि प्रेरणाको स्रोत हो। नेपालले पनि चीनको विकास अनुभवबाट लाभ लिन चाहन्छ,’ उपराष्ट्रपति यादवको भनाइ उद्धृत गरिएको छ।

प्रत्युत्तरमा राजदूत चाङ माओमिङले चीन र नेपालबीचको सम्बन्धलाई नयाँ उचाइमा पुर्याउन आफू प्रतिबद्ध रहेको बताए। नेपालसँगको सम्बन्धलाई चीनले उच्च प्राथमिकता दिएको चर्चा गर्दै उनले दुवै देशका जनताको समृद्धिका लागि आफू क्रियाशील रहने बताए। दुई देशबीचको बहुआयामिक सहकार्यलाई थप विस्तार गर्ने विषयमा पनि भेटमा छलफल भएको जनाइएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button