१३ असार २०८३, शनिबार

वीरगञ्ज नाकाबाट पेट्रोलियम आयात १६ प्रतिशतले बढ्यो

वीरगञ्ज । चालु आर्थिक वर्षको पहिलो १० महिनामा वीरगञ्ज नाका हुँदै पेट्रोलियम पदार्थको आयात उल्लेख्य रूपमा बढेको छ। वीरगञ्ज भन्सार कार्यालयका अनुसार यस अवधिमा छ थरिका पेट्रोलियम पदार्थ रू एक खर्ब ८१ अर्ब ७० करोड मूल्य बराबरको आयात भएको छ।

गत आर्थिक वर्षको सोही अवधिमा रू एक खर्ब ५६ अर्ब १७ करोड मूल्य बराबरका पेट्रोलियम पदार्थ आयात भएका थिए। यसरी मूल्यका आधारमा चालु आर्थिक वर्षको १० महिनामा पेट्रोलियम आयात रू २५ अर्ब ५३ करोडले बढेको छ। यो वृद्धि १६ दशमलव ३५ प्रतिशत हो।

वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टका अनुसार चालु आर्थिक वर्षको १० महिनामा पेट्रोलियम पदार्थको आयातबाट रू ६७ अर्ब १९ करोड राजस्व सङ्कलन भएको छ।

यस अवधिमा सबैभन्दा बढी डिजेल आयात भएको छ। चालु आर्थिक वर्षको १० महिनामा रू एक खर्ब ५७ करोड मूल्य बराबरको आठ लाख ९५ हजार २४६ किलोलिटर डिजेल आयात भएको छ। गत आर्थिक वर्षको सोही अवधिमा करिब रू ७९ अर्ब ५७ करोड मूल्य बराबरको नौ लाख ८५७ किलोलिटर डिजेल आयात भएको थियो।

पेट्रोल आयात पनि बढेको छ। चालु आर्थिक वर्षको १० महिनामा रू ३५ अर्ब ७९ करोड मूल्य बराबरको तीन लाख ९० हजार ६१५ किलोलिटर पेट्रोल आयात भएको छ। गत आर्थिक वर्षको सोही अवधिमा रू ३१ अर्ब ७१ करोड मूल्य बराबरको तीन लाख ६७ हजार ३४४ किलोलिटर पेट्रोल आयात भएको थियो।

त्यसैगरी, एलपीजी ग्यासको आयात भने परिमाण र मूल्य दुवै आधारमा घटेको देखिएको छ। चालु आर्थिक वर्षको १० महिनामा रू २५ अर्ब ५४ करोड मूल्य बराबरको २४ करोड २७ लाख तीन हजार १५० किलोग्राम एलपीजी ग्यास आयात भएको छ। गत आर्थिक वर्षको सोही अवधिमा रू ३० अर्ब २८ करोड मूल्य बराबरको २६ करोड ४१ लाख १४ हजार ३२६ किलोग्राम एलपीजी ग्यास आयात भएको थियो।

वीरगञ्ज नाका नेपालमा इन्धन आयात हुने प्रमुख भन्सार नाकामध्ये एक हो। पेट्रोलियम पदार्थको आयात मूल्य बढेसँगै भन्सार राजस्वमा समेत उल्लेख्य योगदान पुगेको छ। डिजेल र पेट्रोलको आयात मूल्य बढे पनि एलपीजी ग्यासको आयात घटेको तथ्याङ्कले देखाएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button