१३ असार २०८३, शनिबार

पूर्व बाल लडाकू लेनिन बिष्ट जर्मनीमा, ‘बाल सेनाको न्याय’ सम्बन्धी छलफलमा सहभागी

काठमाडौँ। पूर्वप्रधानमन्त्रीद्वय पुष्पकमल दाहाल प्रचण्ड र बाबुराम भट्टराईविरुद्ध युद्ध अपराधको मुद्दा दायर गरेर चर्चामा आएका पूर्व बाल लडाकू लेनिन बिष्ट जर्मनी पुगेका छन्। बाल सेनासम्बन्धी एक कार्यक्रमका लागि उनी जर्मनीको राजधानी बर्लिन गएको बताइएको छ।

बिष्टले ‘बाल सेनाको न्यायसम्बन्धी छलफल’ का लागि युरोप पुगेको जानकारी फेसबुकमार्फत दिएका छन्। उनी कार्यक्रममा सहभागी भएको तस्बिर पनि सार्वजनिक भएको छ। आफूलाई माओवादी जनयुद्धको बाल सैनिकका रूपमा चिनाउँदै आएका लेनिनलाई युरोपेली मुलुकहरूले विशेष महत्त्व दिने गरेको देखिन्छ। मानव अधिकारसँग सम्बन्धित यस्ता कार्यक्रममा भाग लिन उनले पटकपटक युरोप भ्रमण गरिसकेका छन्।

यसअघि, २०७५ सालतिर उनी नेदरल्यान्डको हेगमा आयोजित छलफलका लागि गएका थिए। पूर्व माओवादी नेता तथा हाल एमाले उपाध्यक्ष रामबहादुर थापा बादल गृहमन्त्री रहेका बेला एक पटक उनको विदेश यात्रा रोक्न खोजिएको भन्दै विवादसमेत भएको थियो।

लेनिनले आफूलाई माओवादी नेताहरूले सशस्त्र युद्धमा प्रयोग गरेको आरोप लगाउँदै आएका छन्। उनले सर्वोच्च अदालतमा प्रचण्ड र बाबुरामविरुद्ध युद्ध अपराधको मुद्दा पनि दायर गरेका थिए, जुन अहिले पनि विचाराधीन छ। तर, माओवादी नेता–कार्यकर्ताले भने लेनिन युद्धमा सहभागी नै नरहेको दाबी गर्दै आएका छन्। केही मानव अधिकारकर्मीले उनलाई माओवादीविरुद्ध उचालेको आरोप पनि माओवादी पक्षले लगाउने गरेको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button