१३ असार २०८३, शनिबार

राजदूत नियुक्तिका लागि खुला प्रतिस्पर्धाको आवेदन आह्वान, कुन देश भन्ने भने खुलाइएन

काठमाडौँ। सरकारले विदेशस्थित राजदूतावासमा राजदूत तथा संयुक्त राष्ट्रसङ्घको स्थायी नियोगमा प्रतिनिधि नियुक्तिका लागि खुला प्रतिस्पर्धामार्फत आवेदन आह्वान गरेको छ। परराष्ट्र मन्त्रालयले बुधबार सात पृष्ठ लामो कार्यविधि (टीओआर) सार्वजनिक गर्दै आठ दिनको म्याद दिएर आवेदन माग गरेको हो।

आवेदन खुला गरिए पनि सफल उम्मेदवारलाई कुन मुलुकमा पठाइने भन्नेबारे आज प्रकाशित सूचनामा उल्लेख गरिएको छैन। मन्त्रालयले सुरुमा भारत, चीन, अमेरिका, बेलायत, अस्ट्रेलिया, दक्षिण कोरिया, इजरायल, साउदी अरेबियालगायत मुलुक तथा नियोगमा राजदूत नियुक्तिका लागि खुला प्रतिस्पर्धा गरिने उल्लेख गरेको थियो। तर, केहीबेरमै देशगत विवरण हटाइएको छ।

राजदूत पद राजपत्राङ्कित विशिष्ट श्रेणीसरहको हुने र कार्यकाल चार वर्षको रहनेछ। सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारको पालादेखि १७ वटा नेपाली कूटनीतिक नियोग प्रमुखविहीन छन्। आगामी अगस्टसम्म थप सात स्थान खाली हुँदै छ।

राजदूत हुन चाहनेको शैक्षिक योग्यता अन्तर्राष्ट्रिय सम्बन्ध, राजनीतिशास्त्र, कानुन, अर्थशास्त्र, सार्वजनिक प्रशासन वा सम्बन्धित विषयमा स्नातकोत्तर वा सोभन्दा माथिको हुनुपर्नेछ। कूटनीति, अन्तर्राष्ट्रिय व्यापार, बहुपक्षीय वार्ता, आर्थिक कूटनीति तथा अन्तर्राष्ट्रिय संस्थामा काम गरेको अनुभवलाई प्राथमिकता दिइने सूचनामा उल्लेख छ। उम्मेदवारको उमेर कम्तीमा ३५ वर्षको हुनुपर्नेछ।

परराष्ट्र मन्त्रालयले खुला प्रतिस्पर्धाका लागि सार्वजनिक गरेको सात पृष्ठको कार्यविधिमा उम्मेदवारको छनोट प्रक्रिया, मूल्याङ्कन विधि र अन्तर्वार्ताको ढाँचासमेत उल्लेख गरिएको छ। आवेदन दिने म्याद आठ दिनको रहेको र इच्छुक उम्मेदवारले मन्त्रालयले तोकेको ढाँचामा निवेदन पेस गर्नुपर्नेछ। लामो समयदेखि रिक्त रहेका कूटनीतिक नियोगमा राजदूत नियुक्तिका लागि सरकारले पहिलो पटक खुला प्रतिस्पर्धाको बाटो रोजेको हो। यसअघि, राजनीतिक भागबन्डाका आधारमा राजदूत नियुक्ति हुँदै आएको थियो।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button