नेपाल र अमेरिकाबीच सुशासन र आर्थिक वृद्धिमा सहकार्य गर्ने प्रतिबद्धता

काठमाडौँ। परराष्ट्रमन्त्री शिशिर खनाल र अमेरिकी विदेश मन्त्रालयकी राजनीतिक मामिलाकी उपविदेशमन्त्री (अन्डर सेक्रेटरी अफ स्टेट) एलिसन हुकरबीच आज टेलिफोन वार्ता भएको छ। वार्ताका क्रममा उपविदेशमन्त्री हुकरले मन्त्री खनाललाई परराष्ट्रमन्त्रीको पदभार ग्रहण गरेकोमा बधाई दिँदै नेपाल सरकारसँग नजिकबाट काम गर्ने अमेरिकी सरकारको प्रतिबद्धता व्यक्त गरेकी छन्।
मन्त्री खनालले बधाई सन्देशप्रति आभार व्यक्त गर्दै नेपालको समग्र विकासमा निरन्तर सहयोग गरेकोमा नेपाल सरकारको तर्फबाट अमेरिकी सरकारप्रति हार्दिक कृतज्ञता प्रकट गरे। परराष्ट्रमन्त्री खनालले पूर्वाधार, ऊर्जा, पर्यटन र डिजिटल प्रविधिमा लगानीमार्फत सुशासन र आर्थिक वृद्धिलाई सरकारको प्राथमिकता रहेको विषय पनि उपविदेशमन्त्री हुकरसमक्ष राखे।
उपविदेशमन्त्री हुकरले अमेरिकी सरकारको तर्फबाट नेपालको राष्ट्रिय विकासको प्राथमिकताको प्रशंसा गर्दै यस प्रक्रियामा अमेरिकी सहयोग रहने प्रतिबद्धता व्यक्त गरिन्।
दुई पक्षबीच नेपाल र अमेरिकाबीचको आठ दशक लामो सहकार्यात्मक सम्बन्धबारे छलफल भएको थियो भने पारस्परिक लाभका लागि द्विपक्षीय तथा बहुपक्षीय स्तरमा सहकार्य थप सुदृढ गर्ने प्रतिबद्धता दोहोर्याइएको थियो।





