१ असार २०८३, सोमबार

उपत्यकामा छोटो समयमै भारी वर्षा

काठमाडौं । बिहीबार राति काठमाडौं उपत्यकासहित देशका केही स्थानमा छोटो समयमै भारी वर्षा भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार राति १० बजेसम्मको अभिलेखमा ललितपुरको खुमल्टार वर्षा मापन केन्द्रमा तीन घण्टामै ५७.६ मिलिमिटर वर्षा मापन गरिएको छ।

विभागका अनुसार सोही अवधिमा काठमाडौंको कीर्तिपुरमा ३४.८ मिलिमिटर र पानीपोखरीमा ३१ मिलिमिटर वर्षा भएको छ। तीन घण्टाको अवधिमा सिन्धुपाल्चोकमा भने ७२ मिलिमिटरभन्दा बढी वर्षा मापन भएको विभागले जनाएको छ।

काठमाडौं उपत्यकामा छोटो समयमा परेको वर्षाका कारण तापक्रम घटेको र मौसम शीतल महसुस भएको छ। विभागले हाल नेपालमा तीन वटा मौसमी प्रणालीको प्रभाव रहेको जनाएको छ। ती प्रणालीका कारण आगामी केही दिन देशका विभिन्न भागमा वर्षा र बदलीको अवस्था रहने बताइएको छ।

जल तथा मौसम विज्ञान विभागका सूचना अधिकारी दिनकर कायस्थका अनुसार शुक्रबार पनि विभिन्न जिल्लामा वर्षा, हुरीबतास र चट्याङको सम्भावना छ। मौसम बदली जेठ १८ गतेसम्म कायम रहन सक्ने विभागको अनुमान छ।

पश्चिम नेपालका केही जिल्लामा पनि वर्षा भएको छ। विभागले वर्षा, चट्याङ र हुरीबतासको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ। विशेषगरी छोटो समयमा धेरै वर्षा हुने स्थानमा खोलानाला, ढल निकास र कमजोर भिरालो क्षेत्रमा जोखिम बढ्न सक्ने भएकाले सावधानी आवश्यक रहेको जनाइएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button