स्वास्थ्य मन्त्रालयमा ९७७ दरबन्दी थप

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको संगठन तथा व्यवस्थापनसम्बन्धी कार्य सम्पन्न भएको छ। संगठन व्यवस्थापन पूरा भएसँगै मन्त्रालयअन्तर्गत नयाँ ९७७ दरबन्दी थप स्वीकृत भएको छ।
मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट संघीय पुलअन्तर्गत ९७७ नयाँ दरबन्दी स्वीकृत भएको हो। यसअघि मन्त्रालयअन्तर्गत ८३१ दरबन्दी कायम थिए।
नयाँ दरबन्दी थपिएसँगै मन्त्रालयको कुल दरबन्दी संख्या अब एक हजार ८०८ पुगेको डा. अधिकारीले जानकारी दिए। स्वीकृत दरबन्दीमा अब छिट्टै लोकसेवा आयोगमार्फत चरणबद्ध रूपमा खुला पदपूर्ति प्रक्रिया सुरु गरिने मन्त्रालयले जनाएको छ।
सहप्रवक्ता डा. अधिकारीका अनुसार थप गरिएका दरबन्दीमा विभिन्न विधाका विशेषज्ञ चिकित्सकहरूको संख्या उल्लेखनीय रूपमा वृद्धि गरिएको छ। स्वास्थ्य सेवाको गुणस्तर सुधार, विशेषज्ञ सेवा विस्तार र संस्थागत क्षमता अभिवृद्धिका लागि नयाँ दरबन्दी महत्त्वपूर्ण हुने मन्त्रालयको अपेक्षा छ।
त्यस्तै सीएमए, अहेब, अनमीलगायत प्राविधिक सहयोग तहका स्वास्थ्यकर्मीका लागि पनि प्रदेश र स्थानीय तहमा निकट भविष्यमै ठूलो संख्यामा दरबन्दी खुल्ने डा. अधिकारीले बताए।
नयाँ दरबन्दी स्वीकृतिसँगै स्वास्थ्य सेवामा जनशक्ति अभाव केही हदसम्म कम हुने अपेक्षा गरिएको छ। मन्त्रालयले विशेषज्ञ चिकित्सकसहित स्वास्थ्यकर्मीको पदपूर्ति प्रक्रिया अघि बढेपछि स्वास्थ्य संस्थाहरूको सेवा प्रवाह थप प्रभावकारी बन्ने विश्वास व्यक्त गरेको छ।





