काठमाडौंमा छात्रवृत्ति परीक्षाका लागि २६ हजारभन्दा बढी योग्य

काठमाडौं । काठमाडौं महानगरपालिकाले कक्षा ११ र १२ मा छात्रवृत्तिमा अध्ययनका लागि लिने छनोट परीक्षामा २६ हजार ६८० विद्यार्थी सहभागी हुन योग्य भएका छन्। महानगरका अनुसार छात्रवृत्ति परीक्षाका लागि आवेदन दिएका २६ हजार ८८८ विद्यार्थीमध्ये २०८ जनाको फाराम अस्वीकृत भएको छ।
महानगरको शिक्षा विभागले संस्थागत शिक्षण संस्थामा कक्षा ११ र १२ मा छात्रवृत्ति कोटामा अध्ययन गर्न चाहने विद्यार्थीका लागि यही जेठ १७ गते छनोट परीक्षा सञ्चालन गर्दै छ। परीक्षा काठमाडौं महानगर क्षेत्रभित्रका विद्यालयमा उपलब्ध छात्रवृत्ति कोटाका लागि हुनेछ।
शिक्षा अधिकृत तथा परीक्षा समितिका सदस्यसचिव रामचन्द्र खड्काका अनुसार विद्यार्थीले आवेदन दिएको प्रणालीबाटै प्रवेशपत्र प्राप्त गर्न सक्नेछन्। प्रवेशपत्रमा परीक्षा केन्द्र, परीक्षार्थीले पालना गर्नुपर्ने नियम तथा आवश्यक विवरण उल्लेख गरिएको छ।
खड्काले प्रवेशपत्र अनिवार्य रूपमा रङ्गीन प्रिन्ट गर्नुपर्ने बताए। छात्रवृत्ति कोटामा अध्ययन गर्न चाहने विद्यार्थीको नाममा अरूले परीक्षा दिन नपाऊन् भन्ने उद्देश्यले रङ्गीन प्रवेशपत्र अनिवार्य गरिएको उनको भनाइ छ। ब्ल्याकएन्डह्वाइट प्रिन्ट गरिएको वा फोटो तथा विवरण स्पष्ट नभएको प्रवेशपत्रलाई मान्यता नदिइने महानगरले जनाएको छ।
परीक्षार्थीले काठमाडौं महानगरपालिकाको आधिकारिक पोर्टल ‘इन्ट्रान्स डट काठमाडौं डट जीओभी डट एनपी’मा लगइन गरी प्रवेशपत्र डाउनलोड गर्न सक्नेछन्। लगइन गर्दा एसइईको सिम्बोल नम्बर युजरनेमका रूपमा राख्नुपर्नेछ। त्यसपछि जन्ममिति र इमेल वा म्यासेजमार्फत प्राप्त पासवर्ड राखेपछि प्रवेशपत्र डाउनलोड गर्न सकिनेछ।
परीक्षा केन्द्रमा जाँदा प्रवेशपत्रसँगै फोटोसहित परिचय खुल्ने आधिकारिक कागजात अनिवार्य रूपमा साथमा लैजानुपर्नेछ। एसइई प्रवेशपत्र, विद्यालयको परिचयपत्र वा नागरिकताको प्रमाणपत्रमध्ये कुनै एक कागजात लिएर उपस्थित हुनुपर्ने महानगरले जनाएको छ।
प्रवेशपत्रको पछाडिपट्टि उल्लेख गरिएका परीक्षासम्बन्धी नियम र आचारसंहिता परीक्षार्थीले अनिवार्य रूपमा पालना गर्नुपर्नेछ। नियम उल्लंघन भएमा परीक्षा रद्द गरिने तथा कानुनबमोजिम कारबाही हुन सक्ने महानगरले स्पष्ट पारेको छ।
परीक्षा सञ्चालनका लागि महानगरको शिक्षा विभागले केन्द्राध्यक्षहरूका लागि अभिमुखीकरण सम्पन्न गरिसकेको छ। परीक्षा स्वच्छ, निष्पक्ष र मर्यादित बनाउन निर्देशन दिइएको छ। विद्यार्थीले परीक्षालाई अनावश्यक रूपमा जटिल वा त्रासपूर्ण नमानून् भन्ने उद्देश्यले सहज वातावरण बनाउनसमेत केन्द्राध्यक्षहरूलाई आग्रह गरिएको छ।
शिक्षा अधिकारी नमराज ढकालका अनुसार कक्षा १० सम्मको छात्रवृत्ति वडास्तरीय समितिको सिफारिसमा प्रदान गरिन्छ। तर कक्षा ११ र १२ को छात्रवृत्ति कोटाका लागि शिक्षा विभागले परीक्षा सञ्चालन गरी नतिजाका आधारमा विद्यार्थीको सिफारिस गर्ने व्यवस्था छ।
काठमाडौं महानगरपालिकाले २०८० सालदेखि नीतिगत निर्णय गरेर महानगर क्षेत्रभित्र कक्षा ११ र १२ सञ्चालन गर्ने संस्थागत विद्यालयमा छात्रवृत्ति उपलब्ध गराउन छनोट परीक्षा सञ्चालन गर्दै आएको छ। यस वर्ष पनि सोही प्रक्रियाअनुसार योग्य विद्यार्थीको छनोट गरी छात्रवृत्ति सिफारिस गरिने महानगरले जनाएको छ।





