१३ असार २०८३, शनिबार

गणतन्त्र दिवस देशभर मनाइँदै

काठमाडौं । नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा भएको ऐतिहासिक दिनको स्मरणमा आज १९औँ गणतन्त्र दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ। विसं २०६५ जेठ १५ गते जननिर्वाचित संविधानसभाको पहिलो बैठकले २४० वर्ष लामो राजतन्त्र अन्त्य गर्दै नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको थियो।

तत्कालीन सात राजनीतिक दलको नेतृत्वमा भएको शान्तिपूर्ण जनआन्दोलन र तत्कालीन विद्रोही नेपाल कम्युनिष्ट पार्टी माओवादीको सशस्त्र सङ्घर्षसहित विभिन्न जनआन्दोलन, त्याग र बलिदानको उपलब्धिका रूपमा नेपालले गणतान्त्रिक शासन व्यवस्था अवलम्बन गरेको हो। सोही ऐतिहासिक दिनलाई चिरस्थायी बनाउन प्रत्येक वर्ष जेठ १५ गते गणतन्त्र दिवस मनाउने गरिएको छ।

गणतन्त्र दिवसलाई वंशीय शासनमाथि जनताको विजयको प्रतीकका रूपमा लिइन्छ। यस दिन नेपाली जनताले नागरिक सर्वोच्चता, स्वतन्त्रता, समावेशी समानुपातिक प्रतिनिधित्व, सामाजिक न्याय र लोकतान्त्रिक अधिकार प्राप्त गरेको ऐतिहासिक क्षणको स्मरण गरिन्छ।

१९औँ गणतन्त्र दिवसका अवसरमा गणतन्त्र दिवस मूल समारोह समितिले काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह आयोजना गर्दै छ। समारोहमा राष्ट्रपति रामचन्द्र पौडेललगायत विशिष्ट व्यक्तिहरू सहभागी हुने कार्यक्रम छ। कार्यक्रममा लोकतन्त्र, गणतन्त्र र परिवर्तनका लागि सहादत प्राप्त गर्ने सहिदहरूप्रति श्रद्धाञ्जलि अर्पण गर्दै सङ्घर्ष, त्याग र बलिदान गर्ने अग्रजहरूको योगदान स्मरण गरिनेछ।

गणतान्त्रिक व्यवस्थाले नागरिकलाई राजनीतिक अधिकारको सुनिश्चितता प्रदान गरे पनि त्यसलाई जनजीवनमा अनुभूति गराउने काम अझै प्रमुख चुनौतीका रूपमा रहेको छ। शिक्षा, स्वास्थ्य, रोजगारी, सार्वजनिक यातायात, सामाजिक सुरक्षा, सुशासन, गरिबी न्यूनीकरण र समावेशी विकास गणतन्त्रको मूल कार्यभारका रूपमा रहेका छन्।

जनअपेक्षा र जनभावनाअनुरूप शासन सञ्चालन गर्नु गणतान्त्रिक संविधानको मूल मर्म हो। लोकतान्त्रिक गणतन्त्र राजनीतिक व्यवस्था मात्र नभई शासकीय पद्धति र जनजीवनसँग जोडिएको संस्कार भएकाले यसको संस्थागत विकासका लागि राज्यका सबै निकाय, राजनीतिक दल, नागरिक समाज र आमनागरिकको भूमिका महत्वपूर्ण मानिएको छ।

यस अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थामार्फत उत्तरदायी र जनमुखी सेवा प्रवाहलाई सुदृढ बनाउँदै सुशासन, विकास र समृद्धिको लक्ष्य प्राप्ति आजको राष्ट्रिय आवश्यकता भएको बताएका छन्। उनले संविधानले परिकल्पना गरेको सामाजिक न्याय, आर्थिक समृद्धि र समावेशी विकास हासिल गर्न सबै तहका सरकार, निजी क्षेत्र र नागरिक समाजबीच सहकार्य आवश्यक रहेको उल्लेख गरेका छन्।

राष्ट्रपति पौडेलले नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, स्वाधीनता, राष्ट्रिय हित र स्वाभिमानलाई अक्षुण्ण राख्दै दिगो, फराकिलो र समन्यायिक आर्थिक वृद्धि हासिल गर्न सबै क्षेत्रबाट योगदान आवश्यक रहेको बताएका छन्।

उपराष्ट्रपति रामसहायप्रसाद यादवले गणतन्त्र जनताको शासन प्रणाली भएको उल्लेख गर्दै सम्पूर्ण शक्ति जनतामा निहित हुने बताएका छन्। जनताद्वारा निर्वाचित प्रतिनिधिले जनताप्रति उत्तरदायी भएर जिम्मेवारी निर्वाह गर्नु नै गणतन्त्रको मूल मर्म भएको उनको भनाइ छ। संविधानले दिएको अधिकार र कर्तव्यलाई समान रूपमा आत्मसात् गरे मात्र सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था सबल, सुदृढ र जीवन्त रहने उनले बताएका छन्।

राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले गणतन्त्रको विकल्प अझ उन्नत र समृद्ध गणतन्त्र नै भएको बताएका छन्। उनले संविधानले निर्दिष्ट गरेअनुरूप समाजवादउन्मुख आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्दै सुशासनसहितको राज्य सञ्चालनका पक्षमा दृढतापूर्वक उभिनु अहिलेको आवश्यकता भएको उल्लेख गरेका छन्।

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय लोकतान्त्रिक गणतन्त्रका मूल्य र मान्यतालाई अझ परिपक्व र परिणाममुखी बनाउन राज्यका सबै निकाय, राजनीतिक दल र आमनागरिक दृढ सङ्कल्पित हुनुपर्ने बताएकी छन्।

गणतन्त्र दिवसका अवसरमा विभिन्न राजनीतिक दलका नेताहरूले लोकतान्त्रिक संस्कृतिको विकास, नागरिकको जीवनस्तर उकास्ने नीति, उत्पादन वृद्धि, रोजगारी प्रवर्द्धन, अवसरको न्यायोचित वितरण र सुशासन कायम गर्ने विषयलाई प्राथमिकतामा राख्नुपर्ने बताएका छन्।

नेपालमा गणतन्त्र स्थापना भएको १८ वर्ष पूरा भइसकेको छ। यस अवधिमा राजनीतिक अधिकार संस्थागत भए पनि जनअपेक्षाअनुसार विकास, सेवा प्रवाह, सुशासन र सामाजिक न्यायलाई व्यवहारमा उतार्न अझै निरन्तर प्रयास आवश्यक रहेको छ। गणतन्त्रलाई नागरिकको जीवनसँग जोड्न सके मात्र यसको वास्तविक उपलब्धि समाजका सबै तह र तप्काले अनुभूति गर्न सक्नेछन्।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button