१२ असार २०८३, शुक्रबार

ओलीद्वारा गणतन्त्र रक्षामा जोड

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गणतन्त्र नेपाली जनताको सात दशकभन्दा लामो संघर्ष, त्याग र बलिदानबाट प्राप्त ऐतिहासिक उपलब्धि भएको बताएका छन्। गणतन्त्र दिवसका अवसरमा शुभकामना सन्देश दिँदै उनले जननिर्वाचित संविधानसभाबाट १८ वर्षअघि गणतन्त्र घोषणा भएको दिन नेपाली इतिहासको महत्वपूर्ण मोड भएको उल्लेख गरेका छन्।

ओलीले नेपाली जनताले आफ्ना लागि आफैं शासन प्रणाली निर्धारण गर्ने गणतान्त्रिक अधिकार प्राप्त गर्न लामो संघर्ष गर्नुपरेको स्मरण गरेका छन्। बोल्ने, लेख्ने, संगठित हुने र राजनीतिक विचार राख्ने अधिकार प्राप्त गर्ने क्रममा हजारौँ अग्रजले जीवन अर्पण गरेको, धेरैले जेलनेल, यातना र निर्वासन भोगेको उनले बताएका छन्।

उनले जनताको ठूलो संघर्ष र बलिदानपछि हुकुमबाट चल्ने प्रणाली हटेर कानुनबाट चल्ने प्रणाली स्थापना भएको उल्लेख गरेका छन्। व्यक्तिको इच्छामा आधारित शासनको सट्टा लोकतान्त्रिक अङ्ग र संरचनाबाट सञ्चालन हुने पद्धति सुरु हुनु गणतन्त्रको मुख्य उपलब्धि भएको उनको भनाइ छ।

गणतन्त्र स्थापनाका लागि जीवन गुमाएका अमर सहिद र लोकतान्त्रिक आन्दोलनका अग्रजहरूप्रति ओलीले भावपूर्ण श्रद्धाञ्जलि व्यक्त गरेका छन्। उनले गणतान्त्रिक प्रणालीको अभ्यास नेपालमा अझै छोटो अवधिको भएकाले यसका संस्कार, संस्थागत संरचना र जनताको सेवा गर्ने क्षमता विकास गर्नु चुनौतीपूर्ण रहेको बताएका छन्।

ओलीका अनुसार छोटो अवधिमै सामाजिक र भौतिक विकासमा उल्लेखनीय प्रगति भएको छ। गणतन्त्र केवल शासन प्रणाली परिवर्तनको विषय नभई नेपाली समाजको चेतनामा आएको गहिरो रूपान्तरण भएको उनले उल्लेख गरेका छन्। शताब्दीयौँसम्म ‘प्रजा’का रूपमा बाँचेको समाज आफैंले बनाएको संविधानमार्फत सार्वभौम नागरिकमा रूपान्तरण हुनु ऐतिहासिक उपलब्धि भएको उनको भनाइ छ।

उनले गाउँगाउँमा पुगेको स्थानीय सरकार, राज्यका साधनस्रोतको विस्तार, महिला, दलित, जनजाति, मधेशी र पिछडिएका समुदायको प्रतिनिधित्व तथा सहभागितामा भएको वृद्धि, खुला अभिव्यक्ति, नागरिक स्वतन्त्रता, डिजिटल सेवामा पहुँच, सडक र सञ्चार विस्तारलाई गणतन्त्रका उपलब्धिका रूपमा व्याख्या गरेका छन्।

तर परिवर्तनको गति जनअपेक्षाअनुसार तीव्र हुन नसकेको स्वीकार गर्दै ओलीले त्यसबाट असन्तुष्टि उत्पन्न हुन सक्ने बताएका छन्। उनका अनुसार त्यस्ता असन्तुष्टिको वैधानिक सम्बोधनका लागि पनि गणतान्त्रिक प्रणाली नै आवश्यक हुन्छ।

ओलीले जनताको निराशाबाट लाभ लिन लोकतान्त्रिक संस्थामाथि अविश्वास रोप्ने र भावनालाई दुरुत्साहन गरेर लोकतान्त्रिक संरचना कमजोर बनाउने प्रवृत्तिबाट सावधान रहन आग्रह गरेका छन्। यस्तो प्रवृत्तिले लोकतान्त्रिक अधिकार कमजोर पार्न सक्ने र अधिनायकवादी सोचलाई बढावा दिन सक्ने उनको चेतावनी छ।

उनले संविधान, संसद, न्यायपालिका र स्वतन्त्र प्रेसको अधिकारक्षेत्रको रक्षा गर्नु अहिलेको मुख्य आवश्यकता भएको बताएका छन्। लोकतान्त्रिक गणतन्त्र कमजोर भए समाजले के गुमाउनुपर्छ भन्ने कुरा गणतन्त्र नभएको अवस्थामै मात्र गहिरोसँग महसुस हुने उनले उल्लेख गरेका छन्।

लोकतन्त्रका संस्था कमजोर भए कुनै पनि समाज बलियो हुन नसक्ने र जनताले सुख पाउन नसक्ने ओलीको भनाइ छ। त्यसैले लोकतान्त्रिक गणतन्त्रका अङ्गहरूको रक्षा गर्नु सबैको भविष्यको रक्षा गर्नु भएको उनले बताएका छन्।

गणतन्त्र दिवसका अवसरमा ओलीले शान्त मनले लोकतन्त्र प्राप्तिका लागि भएका कठोर संघर्ष सम्झन र लोकतन्त्र कमजोर भए भविष्य कस्तो हुन सक्छ भन्नेबारे गम्भीर चिन्तन गर्न सबैलाई आह्वान गरेका छन्। उनले सबै नेपाली दिदीबहिनी तथा दाजुभाइमा गणतन्त्र दिवसको शुभकामना व्यक्त गरेका छन्।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button