१२ असार २०८३, शुक्रबार

देशभर गणतन्त्र दिवस मनाइँदै

काठमाडौं । संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको ऐतिहासिक दिनको स्मरणमा आज देशभर विभिन्न कार्यक्रम गरी गणतन्त्र दिवस मनाइँदै छ। दिवसका अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ।

जननिर्वाचित पहिलो संविधानसभाले २०६५ जेठ १५ गते राजसंस्थाको अन्त्य गर्दै नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको थियो। सोही ऐतिहासिक दिनको सम्झनामा हरेक वर्ष जेठ १५ गते गणतन्त्र दिवस मनाइँदै आएको छ।

दिवसका अवसरमा काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह आयोजना गरिएको छ। समारोहअघि नेपाली सेनाले गणतन्त्र दिवसको स्वागतमा तोप पड्काएको थियो। बिहान ८ बजेदेखि सुरु हुने कार्यक्रममा राष्ट्रपति, प्रधानमन्त्रीसहित विभिन्न विशिष्ट व्यक्तित्वको सहभागिता रहने जनाइएको छ।

अघिल्ला वर्षहरूमा गणतन्त्र दिवसको मुख्य समारोहलाई प्रधानमन्त्रीले सम्बोधन गर्ने परम्परा रहे पनि यस वर्ष राष्ट्रपतिले सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ। प्रधानमन्त्री बालेनले गणतन्त्रको प्रतीकका रूपमा राष्ट्रपतिले नै सम्बोधन गर्नु उपयुक्त हुने भन्दै शीतल निवासमा पत्र पठाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। सचिवालयका अनुसार प्रधानमन्त्री समारोहमा सहभागी हुने भए पनि सम्बोधन गर्ने कार्यक्रम छैन।

नेपालमा गणतन्त्र स्थापनाको राजनीतिक प्रक्रिया लामो संघर्ष र आन्दोलनसँग जोडिएको छ। २०६१ माघ १९ गते तत्कालीन राजा ज्ञानेन्द्र शाहले शासन सत्ता आफ्नो हातमा लिएपछि राजतन्त्रविरुद्धको आन्दोलन थप तीव्र बनेको थियो। त्यसपछि आन्दोलनरत सात राजनीतिक दल र तत्कालीन नेकपा माओवादीबीच १२ बुँदे समझदारी भएको थियो।

२०६२/६३ को जनआन्दोलनपछि पुनःस्थापित संसद्ले २०६३ जेठ ४ गते राजसंस्थाको अधिकार कटौती गर्दै राजसंस्थालाई निलम्बन गरेको थियो। त्यसपछि संविधानसभा निर्वाचनमार्फत नयाँ राजनीतिक व्यवस्था संस्थागत गर्ने प्रक्रिया अघि बढेको हो।

२०६४ चैत २८ गते पहिलो संविधानसभा निर्वाचन सम्पन्न भएको थियो। सो निर्वाचनपछि २०६५ जेठ १५ गते बसेको संविधानसभाको पहिलो बैठकले राजसंस्थाको विधिवत् अन्त्य गर्दै नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको थियो।

त्यसपछि दोस्रो संविधानसभाबाट २०७२ असोज ३ गते नेपालको संविधान जारी भयो। संविधान कार्यान्वयनसँगै संघीय, प्रादेशिक र स्थानीय तहका सरकार गठन भई मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीअनुसार सञ्चालन हुँदै आएको छ।

गणतन्त्र दिवसलाई जनताको संघर्ष, बलिदान र परिवर्तनको आकांक्षाबाट प्राप्त राजनीतिक उपलब्धिको स्मरण दिवसका रूपमा लिइन्छ। यस दिन लोकतन्त्र, नागरिक सर्वोच्चता, संविधानवाद, समावेशिता र संघीय शासन प्रणालीलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरिन्छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button