शहर नवीकरणको खाका सार्वजनिक, २०३० सम्म मूर्त उपलब्धि हासिल गर्ने लक्ष्य

काठमाडौं । चीनको राज्य परिषदले हालै १५औं पञ्चवर्षीय योजना अवधि (सन् २०२६–२०३०) का लागि शहरी नवीकरण योजना सार्वजनिक गरेको छ। उक्त योजनामा शहरी नवीकरण प्रयासका प्रमुख लक्ष्य, मुख्य कार्य, आयोजना तथा नीतिगत उपायहरू उल्लिखित छन्।
योजनाले सन् २०३० सम्ममा शहरी नवीकरणमा उल्लेखनीय प्रगति हासिल हुने र शहरी विकास तथा निर्माणको नयाँ ढाँचाले मूर्त परिणाम दिन सुरु गर्ने परिकल्पना गरेको छ। साथै, यसै अवधिमा सहरहरू जनताका लागि उच्च गुणस्तरीय जीवन सुनिश्चित गर्ने स्थलका रूपमा विकसित हुने अपेक्षा गरिएको छ।
योजनामा छ वटा प्रमुख कार्यहरू तोकिएका छन्। जसमा शहरी विकासका नयाँ चालक शक्तिहरूको प्रवर्द्धन, उच्च गुणस्तरीय शहरी आवासीय क्षेत्र निर्माण, सहरहरूको हरित तथा न्यून कार्बन सङ्क्रमणलाई अगाडि बढाउने, सुरक्षित र थप विपद प्रतिरोधी सहर निर्माण, शहरी संस्कृतिको उत्थान र शहरी सुशासन क्षमता अभिवृद्धि रहेका छन्।
यसबाहेक, कम उपयोग भएको भूमिको राम्रो सदुपयोग गर्ने, आवासका लागि पूर्ण जीवनचक्र सुरक्षा व्यवस्थापन प्रणाली लागू गर्ने, ‘गुणस्तरीय आवास’ निर्माण तथा नवीकरण गर्ने र शहरी नगरपालिका पूर्वाधार स्तरोन्नति गर्ने आवश्यकतामा पनि योजनाले जोड दिएको छ।





