‘चीन–ईयू व्यापार दुईतर्फी, संरक्षणवादले युरोपकै हितमा चोट पुर्याउँछ’
काठमाडौं । युरोपेली संघ (ईयू) ले चीनसँगको व्यापार सम्बन्धलाई सही परिप्रेक्ष्यमा हेर्न र स्वतन्त्र व्यापारप्रतिको आफ्नो प्रतिबद्धता पालना गर्न आवश्यक रहेको चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता माओ निङले बिहीबार बताएकी छन्।
ईयूका उद्योग प्रमुखले चीनसँगको असन्तुलित व्यापार सम्बोधन गर्न उपकरणहरू विस्तार गर्ने योजनाबारे पत्रकारहरूलाई बताएको विषयमा सोधिएको प्रश्नको जवाफमा माओले दैनिक पत्रकार सम्मेलनमा यो धारणा राखेकी हुन्।
“अन्तर्राष्ट्रिय व्यापार दुईतर्फी बाटो हो। यसमा जबरजस्ती हुँदैन,” माओले भनिन्, “चीन–ईयू व्यापार सम्बन्ध जित–जित प्रकृतिको छ।”
चीनले व्यापार अधिशेषलाई लक्ष्य नबनाएको उल्लेख गर्दै माओले वस्तु व्यापारमा मात्र केन्द्रित भएर सेवा व्यापार र लगानी प्रतिफललाई बेवास्ता गर्ने, शुद्ध परिमाणमा मात्र हेरेर व्यापार संरचना र नाफा प्रवाहलाई नदेख्ने तथा चीनबाट आयातमा मात्र ध्यान दिएर आफ्नो निर्यातलाई बेवास्ता गर्ने जो कोहीले पनि असन्तुलनबाहेक केही नदेख्ने बताइन्।
“जोखिम न्यूनीकरण,” “निर्भरता घटाउने” वा “व्यापार असन्तुलन” जस्ता शब्दहरू संरक्षणवादकै विभिन्न नाम मात्र भएको र यसले दीर्घकालमा युरोपेली उपभोक्ताको हितमा चोट पुर्याउने, कम्पनीहरूको लागत बढाउने र युरोपको उद्योग प्रतिस्पर्धात्मकता कमजोर बनाउने माओले बताइन्।
“चीनले ईयूका कदमहरूलाई नजिकबाट नियाल्नेछ र वैध अधिकार र हितको रक्षाका लागि सबै आवश्यक कदम चाल्नेछ,” माओले भनिन्।





