१२ असार २०८३, शुक्रबार

जलविद्युत्लाई एआई प्रविधिमा जोड्ने सरकारको घोषणा, स्टार्टअप र अनुसन्धानलाई विशेष प्रोत्साहन

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत नेपाललाई आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को युगमा प्रवेश गराउन विशेष पहल सुरु गरेको छ। संघीय संसद्को संयुक्त बैठकमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले काठमाडौंको स्युचाटारमा देशकै पहिलो ‘सार्वभौम एआई कम्प्युट केन्द्र’ स्थापना गर्ने घोषणा गरे।

“नेपाललाई आर्टिफिसियल इन्टेलिजेन्सको युगमा आत्मविश्वासका साथ प्रवेश गराउन विशेष पहल सुरु गरेका छौं,” अर्थमन्त्री वाग्लेले भने, “काठमाडौंको स्युचाटारमा देशकै पहिलो सार्वभौम एआई कम्प्युट केन्द्र स्थापना गर्नेछौं।”

सरकारले एआई उद्यमी तथा स्टार्टअपलाई सहुलियतपूर्ण कम्प्युट क्षमता उपलब्ध गराउन हजारौं एआई प्रोसेसिङ युनिट खरिद गर्ने योजना अघि सारेको छ। मुलुकमा उत्पादित स्वच्छ जलविद्युत् ऊर्जालाई एआई कम्प्युट सेवामा रूपान्तरण गर्ने लक्ष्य बजेटले लिएको छ।

“स्वच्छ जलविद्युत् ऊर्जालाई उच्च मूल्यको एआई कम्प्युट सेवामा रूपान्तरण गर्ने प्रस्ताव गरेको छु,” अर्थमन्त्री वाग्लेले भने, “नेपालको विद्यमान अपार ऊर्जा शक्तिलाई कृत्रिम बुद्धिमत्ताको विकासमा प्रयोग गरी सीपयुक्त रोजगारी, डिजिटल निर्यात र एआईमा आधारित आर्थिक रूपान्तरणको जग निर्माण हुने विश्वास गरेको छु।”

बजेटअनुसार आगामी आर्थिक वर्षमा एआईको क्षेत्रमा अन्तर्राष्ट्रिय ख्याति कमाइरहेका कम्तीमा १५ जना नेपाली शोधकर्तालाई प्रतिष्ठित फेलोसिप प्रदान गरी नेपाल फर्केर योगदान गर्न आमन्त्रित गरिनेछ। एआई प्रविधिको विकासका लागि आधारभूत मानिने गणितलगायत शैक्षिक विधालाई समेत उच्च प्राथमिकता दिइने बजेटमा उल्लेख छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button