कृषिलाई शीर्ष प्राथमिकतामा राखेको सरकारको घोषणा, ४० प्रतिशतसम्म अनुदानको व्यवस्था

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कृषि क्षेत्रको पुनरुत्थानका लागि यसलाई सरकारले शीर्ष प्राथमिकतामा राखेको बताएका छन्। शुक्रबार संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै उनले कृषि उत्पादन, वितरण र बजारीकरणका लागि सम्पूर्ण प्रणालीमा सुधार गरिने जानकारी दिए।
‘कृषि क्षेत्रको पुनरुत्थान सरकारको शीर्ष प्राथमिकतामा रहेको छ,’ अर्थमन्त्री वाग्लेले भने।
उनले न्यूनतम दुई करोड रुपैयाँसम्म कृषि तथा पशुजन्य उत्पादनका लागि प्रारम्भिक लगानी गर्ने कृषकलाई सरकारले ४० प्रतिशतसम्म प्रोत्साहन अनुदान उपलब्ध गराउने पाइलट कार्यक्रमको तयारी गरेको बताए।
साथै, व्यावसायिक कृषकलाई प्रोत्साहन र कृषिमा उत्पादकत्व वृद्धि गर्न प्रोत्साहित गर्ने नीति लिई कृषिलाई सम्मानजनक र लाभमुखी व्यवसायमा रूपान्तरण गरिने उनको भनाइ छ।





