सरकारले तीन दूतावास र दुई महावाणिज्यदूतावास बन्द गर्ने, डेनमार्क, ब्राजिल र दक्षिण अफ्रिकासहितको सूची

काठमाडौँ। सरकारले तीन मुलुकमा रहेका नेपाली राजदूतावास र दुई मुलुकमा रहेका महावाणिज्यदूतावास बन्द गर्ने निर्णय गरेको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बिहीबार सङ्घीय संसद्मा आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै उक्त जानकारी दिएका हुन्।
अर्थमन्त्री वाग्लेका अनुसार डेनमार्क, ब्राजिल र दक्षिण अफ्रिकामा रहेका नेपाली राजदूतावास आगामी आर्थिक वर्षदेखि बन्द हुनेछन्। त्यस्तै, अमेरिकाको सानफ्रान्सिस्कोस्थित महावाणिज्यदूतावास र चीनको छङ्तुमा रहेको महावाणिज्यदूतावास पनि बन्दको सूचीमा परेका छन्। यसैगरी, भारतको विशाखापट्टनममा रहेको दूतावासको शाखा पनि खारेज गरिएको छ।
सरकारले खर्च कटौती र कूटनीतिक नियोगको पुनर्संरचनाका लागि यो निर्णय गरेको बताइएको छ। यी नियोग बन्द भएपछि सम्बन्धित मुलुकका लागि अन्यत्रबाटै कूटनीतिक सम्बन्ध सञ्चालन गरिने जनाइएको छ।





