१२ असार २०८३, शुक्रबार

प्रधानमन्त्री शाहले गणतन्त्र दिवसमा पनि तोडेनन् मौनता, न सम्बोधन न शुभकामना सन्देश

काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाहले नयाँ सुरुवातको नाममा स्थापित राजनीतिक परम्परा तोड्ने क्रमलाई निरन्तरता दिएका छन्। गणतन्त्र दिवसको अवसरमा बिहीबार आयोजित औपचारिक कार्यक्रमलाई उनले सम्बोधन गरेनन्। शुभकामना सन्देशसमेत जारी नगरेपछि राजनीतिक वृत्तमा टीकाटिप्पणी सुरु भएको छ।

सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनाको १९ वर्ष प्रवेशको अवसरमा आज बिहान सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह आयोजना गरिएको थियो। गृह मन्त्रालयको समेत जिम्मेवारीमा रहेका प्रधानमन्त्री स्वयं मूल आयोजक समितिका संयोजक थिए। तर, कालो पोशाकमा उपस्थित उनले सम्बोधन गरेनन्। समारोहलाई राष्ट्रपति रामचन्द्र पौडेलले सम्बोधन गरे।

यसअघि राष्ट्रपति, उपराष्ट्रपति, राज्यका विशिष्ट पदाधिकारी र विदेशी नियोगका अतिथिको उपस्थिति रहने यस्तो कार्यक्रमलाई सरकार प्रमुखले सम्बोधन गर्ने परम्परा थियो। प्रधानमन्त्री शाहले केही दिनअघि नै गणतन्त्र दिवसको कार्यक्रममा आफूले सम्बोधन नगर्ने जानकारी गराउँदै राष्ट्रपतिलाई सम्बोधन गर्न आग्रहसहित पत्र पठाएका थिए। उनको उक्त निर्णयप्रति विपक्षी राजनीतिक दलले असन्तुष्टि जनाएका थिए।

यति मात्र होइन, गणतन्त्र दिवस समारोहमा पूर्वप्रधानमन्त्रीहरूलाई आमन्त्रण नगरेर यसपटक अर्को स्थापित परम्परा पनि तोडिएको छ। विगतमा पूर्वप्रधानमन्त्रीहरूलाई संस्थाकै हैसियतमा निम्तो गर्ने चलन रहेकोमा यसपटक कुनै पनि पूर्वप्रधानमन्त्रीको सहभागिता रहेन।

प्रधानमन्त्री शाहले यसअघि प्रधानमन्त्रीहरूले औपचारिक लेटरहेडमा जारी गर्ने शुभकामना सन्देश पनि दिएनन्। व्यक्तिगत रूपमा अनौपचारिक शुभकामनासमेत नदिएका उनले यसअघि मातातीर्थ औँसीको शुभकामना दिएको फेसबुकमा गणतन्त्र दिवसबारे केही लेखेका छैनन्। सामाजिक सञ्जालमार्फत जनमत बनाएर सत्तामा पुगेका प्रधानमन्त्रीको पछिल्लो व्यवहारले गणतन्त्र स्वीकार गर्नै अप्ठेरो मानेको हो कि भन्ने कोणबाट राजनीतिक वृत्तमा टीकाटिप्पणी भएको छ।

प्रधानमन्त्री शाहले पदभार ग्रहण गरेयता हालसम्म एक पनि सार्वजनिक कार्यक्रममा सम्बोधन गरेका छैनन्। चैत १३ गते शपथ ग्रहण गरेका उनले चैत २६ गते भक्तपुरस्थित नेपाली सेनाको कार्यक्रममा दुई मिनेट बोलेका थिए। त्यसबाहेक कतै बोलेको सुनिएको छैन। आफूलाई प्रधानमन्त्री निर्वाचित गर्ने संसद्लाई समेत अहिलेसम्म सम्बोधन नगरेका उनले झापा–५ का मतदातालाई धन्यवादसमेत दिएका छैनन्। विपक्षी दलका सांसदले प्रधानमन्त्रीको उपस्थिति खोज्दै निरन्तर प्रतिनिधिसभा बैठक अवरुद्ध पार्दा पनि प्रधानमन्त्रीको मौनता कायम छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button